नेपालमा चिनीयाँ प्याजको आयात बढ्दै,अब प्याज सस्तो हने

445

 

वीरगन्ज १९ पुस । नेपालमा प्याज आयातको श्रृंखला भारतभन्दा चीनबाट बढ्दै गएको छ । भारतले नेपालमा प्याज निर्यात गर्न कडाई गरेपछि चीनबाट प्याजको आयात बढ्दै गएको हो ।



नेपालमा  गत मंसिरमा मात्र चीनबाट १७ लाख ६० हजार केजी अर्थात् रू. १० करोड ७७ लाख बराबरको प्याज आयात  भएको छ । जबकि सोही महीना भारतबाट   भने ४ लाख ३२ हजार केजी अर्थात रू. १ करोड ६६ लाख बराबरको प्याज आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार, नेपालमा खपत हुने प्याजको झण्डै ९० प्रतिशत हिस्सा भारतबाट पूर्ति हुने गरेको छ । तर भारतले यो वर्ष प्याजको उत्पादन घटेसँगै भदौदेखि नै नेपालमा प्याज निर्यात गर्न कडाई गर्दै आएको छ ।

भन्सार विभागको तथ्यांकले पनि भदौयताका महीनामा भारतबाट हुने प्याजको आयात क्रमशः घट्दै गएको देखाएको छ ।

भारतले प्याज निर्यातमा कडाई गर्दा गत असोजबाट चीनको प्याज आयातमा वृद्धि भइरहेको छ । असोजयता चीनबाट २० लाख ७४ हजार केजी अर्थात रू. १२ करोड ३८ लाख बराबरको प्याज नेपाल आयात भएको छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले पछिल्लो समय भारतबाट प्याज आयात लगभग ठप्प भएको र चीनबाट आयात भइरहेको बताए ।

तथ्यांकअनुसार चालू आवको पहिलो पाँच महीनामा ४ करोड ३३ लाख केजी अर्थात रू. १ अर्ब ६७ करोडको प्याज आयात भएको छ, त्यसमा भारतबाट ४ करोड २५ लाख केजी अर्थात् रू. १ अर्ब ५४ करोड बराबरको प्याज आयात भएको छ ।

यसैगरि नामिबियाबाट साउन महीनामा १२ हजार केजी अर्थात् रू. ३ लाख ८७ हजारको प्याज आयात भएको छ ।

चालू आवको पहिलो पाँच महीनामा १७ दशमलव ४७ प्रतिशतले प्याजको आयात घटेको छ । गत आवको सो अवधिमा ६ करोड ३४ लाख केजी अर्थात् रू. २ अर्ब २ करोड ४८ लाख बराबरको प्याज निर्यात भएको थियो ।

विभागको तथ्यांकअनुसार गत आवमा १६ करोड ७९ लाख ५२ हजार केजी प्याज आयात भएको थियो । रकमका आधारमा गत आवमा रू. ५ अर्ब २६ करोड ९६ लाखको प्याज आयात भएको विभागले बताएको छ ।

भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएपछिका महीनामा नेपालमा यसको अभाव अझै छ, जसको फलस्वरुप बजारमा प्याजको मुल्य प्रतिकेजी रू.२५० भन्दा बढीमा कारोबार भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका उप–निर्देशक तथा सुचना अधिकारी विनय श्रेष्ठले हाल चिनीयाँ प्याजले नै बजारको माग धानिरहेको बताए ।

‘अहिले भारतीय प्याज सिमित मात्रामा आइरहेको छ, बजारको माग चिनीयाँ प्याजले नै धानिरहेको छ,’ उनले भने, ‘मूल्य बढेपछि उपभोक्ताले प्याज कम मात्रामा किन्ने गरेका छन्, तर चिनीयाँ प्याजको खपत पनि राम्रै भइरहेको छ ।’

अहिले कालीमाटी बजारमा दैनिक ४० हजार केजी प्याज आउछ, त्यसमा न्यून मात्रामा भारतीय प्याज हुने गरेको छ । उनका अनुसार सामान्य अवस्थामा कालीमाटि बजारबाट दैनिक १ लाख केजी प्याज खपत हुने गरेको छ ।