×

 

वीरगन्ज १५ पुस । दुई हप्ता लामो शीतलहरको कारण पर्सागढी नगरपालिकामा हालसम्म पाँचजना वृद्धको मृत्युु भइसकेको छ। अत्यधिक चिसोको कारण पुस ८ गते पर्सागढी–४ सबैयाटाँडी निवासी ६७ वर्षीय बुधन हजरा दुसाध र सबैया निवासी ७८ वर्षीया कोकनीदेवी थरुनीको मृत्युु भएको थियो ।

शीतलहर चलेपछि पुस ११ गते सोही वडा परशुरामपुर गाउँ निवासी ७३ वर्षीय बुधु देवान र भडाहाटोल निवासी भगौरीदेवी मुसहरिनको पनि कठ्याङ्ग्रिएर मृत्यु भएको उनीहरूका परिवारजनले जनाएका छन् । पुस १३ गते वडा नं ४ कै बर्वाटाँडी निवासी ७५ वर्षीय विक्रम सहनी मलाहाको पनि मृत्यु भएको थियो । मृत्यु हुनेहरूमध्ये देवान र मलाहा चिसो लागेपछि उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक पाँचैजना एउटै वडाको रहेको र अतिविपन्न परिवारको भएको कारण ओढ्ने, ओछ्याउने र लगाउने कपडाको अभावमा लगातारको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको पर्सागढी नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नं. ४ का अध्यक्ष समसुद्दीन शाह देवानले बताए ।

पीडित परिवारले राहत नपाएको गुनासो चिसोको कारण मृत्यु भएका परिवारका सदस्यहरूले राहत नपाएको गुनासो गरेका छन् । स्व. बुधन हजरा दुसाधकी पत्नी ६२ वर्षीया चाँदज्योति दुसाधले पति बितेको एक हप्ता हुन थाल्दा पनि कहीं कतैबाट राहत नपाएको गुनासो गरेकी छन् । उनको पति बुधनले धेरै वर्ष सबैया गाउँको चौकीदारी गर्दै सेवा पु¥याएका थिए । उनको चिसोले ज्यान जाँदासमेत कसैले चासो नदिएको बुधनकी पत्नी चाँदज्योतिले गुनासो गरिन् ।

चिसोको कारण मृत्यु भएका विक्रम सहनी मलाहाका छोरा भगवान सहनीले पनि कुनै निकायबाट सहयोग नपाएको गुनासो गरेका छन् । दुई साता लामो शीतलहर तथा चिसोले जनजीवन कष्टकर हुँदा पनि सो क्षेत्रका विपन्नहरूलाई दाउरा तथा न्यानो कपडा कसैले वितरण नगरेको पर्सागढी–४ की कान्तिदेवी महतो धागडले गुनासो गरेकी छन् ।

पर्सागढी नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक समसुद्दीन शाह देवानले चिसोको कारण मृत्यु भएकाहरूको परिवारजनलाई राहत उपलब्ध गराउने र एक/दुई दिनभित्रै प्रत्येक वडामा दाउरा वितरण गर्नुका साथै अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गर्ने तयारी नगरपालिकाले गरिरहेको बताए ।

Back to top