×

  वीरगन्ज १३ पुस । प्रदेश २ सरकार ढल्ने चर्चा अहिले जोडतोडले शुरू भएको छ । सङ्घीय सरकारबाट मधेसवादी घटक समाजवादी पार्टी बाहिरिएसँगै यस्तो चर्चा शुरू भएको हो । पछिल्लो समय सङ्घीय सरकारको सत्तापक्ष नेकपासँग राजपाले राष्ट्रियसभाको चुनावको लागि प्रदेश २ बाट ४ सिटको लागि २/२ सिटको २ बुँदे सहमति गरेपछि राजपा सङ्घीय सरकारमा जाने चर्चा चलेको थियो । समाजवादी पार्टी सरकारबाट हटेपछि झन् चर्चा चुलिएको छ । प्रदेश २ को सरकार पनि ढाल्नमा केन्द्र सरकारले भूमिका खेल्न सक्ने भएकोले पनि यस्तो चर्चा चल्नु स्वाभाविक होे । यसै चर्चाले अहिले प्रदेश २ मा शीतलहरको बेला राजनीतिक माहोल तातेको छ । दोस्रो मन्त्रिपरिषद् गठनमा समाजवादी पार्टीका राष्ट्रिय अध्यक्षसमेत रहेका उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइनु, कानुनमन्त्रीको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गर्नुलगायतका घटनाले पनि समाजवादी पार्टीप्रति नेकपा चिढिएको प्रस्ट छ । सोहीअनुरूप नेकपाको सरकारलाई नसघाउने दिशामा समाजवादी पार्टी अघि बढ्दै मन्त्री पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रदेश २ मा पनि राष्ट्रियसभाको चुनाव जस्तै राजपा र नेकपाले सहकार्य गरी सरकार ढाल्ने र बनाउने चलखेल त गर्ने त होइन भन्ने आशङ्का पलाउँदै गएको छ । प्रदेश २ मा नेकपा संलग्न भएर सरकार बनायो भने देशको ७ वटा प्रदेश सबैमा नेकपाको सरकार छ भन्ने भाव दिलाउन पनि नेकपाका नेताहरू आन्तरिकरूपमा लागिपरिरहेको विश्लेषण गरिंदै छ ।

गोल गर्ने बल राजपाको खुट्टामा छ –नेकपा नेता चौधरी

“अहिले नै प्रदेश २ मा मधेसवादीको सरकार ढालेर वा नेकपा र राजपाको सरकार बनाउनु भनी निर्देशन आइसकेको छैन, गोल गर्ने बल राजपाको खुट्टामा छ,” उनले भने, “यदि राजपाले समाजवादीलाई दिएको समर्थन फिर्ता लिएर नेकपासँग सरकार बनाउन आयो भने त्यसको लागि पार्टीको माथिल्लो निर्देशन र सुझावको आधारमा सरकार बन्न पनि सक्छ ।”

अवस्था ५०–५० को जस्तो लाग्छ – विश्लेषक कर्ण

मधेस मामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्णले प्रदेश २ मा सरकार नढल्ने विश्लेषण गरे । उनले भने, “प्रदेश २ सरकारबारे केही कुरा बोल्न हतार होला, तर पछिल्लो राजनीतिक अवस्थालाई गम्भीर भएर हेर्ने हो भने अवस्था ५०–५० को जस्तो लाग्छ, तर सरकार नै ढालेर नेकपा र राजपाको सरकार बन्ने सम्भावना न्यून छ ।” उनले सङ्घीय सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग प्रदेश २ मा राजपासँग मिलेर चुनावताका गरेको एकता सम्बन्धलाई अभैm मलजल गर्ने अवसर रहेको बताए । किनभने मधेसवादी भावनामा दुवै दलले जितेका हुन् र मधेसी जनताको भावना अनुसार नै गठबन्धन गरी सरकार बनाएका छन् ।

दलका शीर्ष नेताहरूको हातमा अधिकार छ –राजपा संसदीय दलका नेता सोनल

राजपा प्रदेश २ को संसदीय दलका नेता तथा हालका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आपूm अहिले केही पनि टिप्पणी गर्ने पक्षमा नरहेको बताए । उनले भने, “म अहिले केही बोल्ने मूडमा छैन, मात्र सुन्न सक्छु, प्रदेश २ म सरकार ढल्छ कि बस्छ, त्यो पार्टीको काम हो, राजपाका शीर्ष नेताहरूको हातमा त्यो अधिकार छ ।”

नेकपा प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरीले अबको प्रदेश २ को सरकारको लागि बल राजपाको खुट्टामा भएको बताएका छन् । उनले अहिले नै सरकार ढल्छ कि रहन्छ भन्न हतारो हुने भन्दै यसबारेमा पछि बोल्नु उपयुक्त हुने धारणा राखे ।   यस्तो छ प्रदेश २ मा राजनीतिक दलको हैसियत

प्रदेश २ मा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी कुल १०७ प्रदेश सांसद छन् । जसमध्ये नेकपासंग ३२, समाजवादी पार्टीसंग २९, राजपासँग (सभामुखसहित) २५, नेपाली काङ्ग्रेससँग १९, नेपाल सङ्घीय समाजवादी पार्टीबाट १ र स्वतन्त्र १ प्रदेश सांसद छन् । सरकार बनाउन न्यूनतम बहुमत ५४ चाहियो, जुन अहिलेको सरकार राजपा र समाजवादी पार्टीको गठबन्धनसँग छ । तर राजपा सरकारबाट बाहिरियो भने नेकपासँग मिलेर बहुमतको सरकार बनाउन भने सकिन्छ ।prateekdaily.com बाट

Back to top