×

 

वीरगन्ज ११ पुस । प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले नेपाली भूमि राष्ट्रको हितविरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । नेपाल भारत खुला सीमा संवाद समूहद्वारा आज यहाँ आयोजित सीमाञ्चल सम्बन्धको स्वरूप र नागरिक दायित्व विषयको छलफलमा मन्त्री सोनलले खुला सीमालाई दुवै देशबीच रहेको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धलाई दरिलो बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले खुला भूमि राष्ट्रको हितविपरीत प्रयोग हुन सक्ने आशङ्कालाई त्यागी विद्यमान समस्यालाई साझा रूपमा समाधान कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याउनुभयो । सामाजिक विकासमन्त्री नवलकिशोर साहले मिथिला राष्ट्र हुँदादेखि नै भारतसँग सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको चर्चा गर्दै सो सम्बन्ध कहिल्यै टुट्न नसक्ने धारणा राख्नुभयो ।

नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले नेपाल भारतको सम्बन्ध प्राकृतिक, नैसर्गिक र मानवीय रहेको चर्चा गर्दै सार्वभौमिकता रक्षाका लागि सबैपक्ष सजग हुनुपर्दछ भन्नुभयो । प्रदेशसभा सदस्य परमेश्वर साहले दुवै देशका नागरिकबीच आत्मीय सम्बन्ध रहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

राजनीतिक विश्लेषक चन्द्रकिशोरले सीमाञ्चल सम्बन्ध दुवै राष्ट्रका जनताबीचको सम्बन्ध साझा विम्बझैँ भएकाले सामाजिक विकृतिलाई साझा रूपमा अन्त्य गर्न पहल गर्र्नुपर्दछ भन्नुभयो । भारतीय सीमाविज्ञहरू प्राध्यापक नवलकिशोर चौधरी, अशोक प्रियदर्शी, नागेन्द्रप्रसाद सिंह र अरुण दासले सीमाञ्चल सम्बन्धमा शासकले असमझदारी उत्पन्न गर्ने गरेकाले सीमाञ्चलका नागरिक असमझदारी प्रति सजग हुनु जरुरी छ भन्नुभयो ।

समूहका अध्यक्ष राजीव झाले सीमा क्षेत्रमा सडकको दूरावस्था, लागू ओषधको ओसारपसार र आपराधिक क्रियाकलापको समाधान गर्न नागरिकको अग्रसरता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा साहित्यकार अयोध्यानाथ चौधरीद्वारा हिन्दी भाषामा लिखित ‘ढलते आंशुऔंके बीच’ नामक कविता सङ्ग्रहको पनि विमोचन गरिएको थियो ।

Back to top