×

 

वीरगंज, ९ पुस । पछिल्लो समय नेपालमा हुने अपराधमा चिनियाँ अपराधीको संलग्नता ह्वात्तै बढेको छ । सांगठनिक रुपमै पूर्वयोजना बनाएर नेपाल प्रवेश गर्ने र वित्तिय अपराध गर्ने काममा चिनियाँ बढि सक्रिय भएको पाइएको छ । अपराधमा संलग्न रहेको आशंकामा १२२ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका चिनियाँ नागरिक एटिएम ह्याकिङ गरेर लुपाट गर्ने योजनासहित नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेको यो समुह अन्य देशमा पनि प्रविधिको दुरुपयोग गर्दै लुटपाट गरेर भागेको हुनसक्ने प्रहरीको आशंका छ । यो समुह नेपाल प्रवेश गरेको जानकारी पाएपछि नेपाल र चिनियाँ सुरक्षा अधिकारीबीच पक्राउ गर्न तीन महिना अघिदेखि नै छलफल भएको थियो ।

छलफलमा चीनले नेपालमा रहेका शंकास्पद चिनियाँ नागरिकलाई पक्राउ गरी देशनिकाला गर्न आग्रह गरेको थियो । सोहि छलफल बमोजिम प्रहरीले सोमबार एकै साथ सात ठाउँमा छापा हानेर १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । काठमाडौं उपत्यकामा घर भाडामा लिएर बसेका उनीहरु बैंक ह्याकिङलगायत अन्य अपराधमा संलग्न रहेको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीका प्रमुख निरज शाही बताउँछन् ।

प्रहरी प्रशासनले बेलाबेलामा अपराधमा संलग्नलाई पक्राउ गर्दे कारबाही त गरेको छ, तर सरकारले नेपालको सुचना प्रविधिलाई सुरक्षित बनाउनतर्फ ध्यान दिन सकेको छैन । नेपालको सुचना प्रविधि सुरक्षाका दृश्टीकोणले निकै कमजोर भएको प्रविधि विज्ञहरु बताउँछन् । सरकारी कार्यालयमा राखिएका सर्वर, सफ्टवेर, डाटा जस्ता महत्वपूर्ण कुरा असुरक्षित भएको सुचना प्रविधि विज्ञ उत्तम कार्की बताउँछन् ।

नेपालमा प्राविधिको प्रयोग अत्यन्त असुरक्षित तरिकाले गरिएकाले नै चिनियाँ लगायतका विदेशीहरु एटिएम ह्याक लगायतका काममा सक्रिय भएको कार्कीको जिकिर छ । नेपालका अधिकांश बैंकहरुको सफ्टवेटर असुरक्षित रहेको र एटिएमहरु अत्यन्त जोखिममा रहेको उनको ठहर छ ।

छिमेकी चीनका अपराधिहरु नेपालका कमजोरीहरु खोज्ने र त्यहि अनुसार अफ्नो सक्रियता बढाउने अभियानमा लागेको अपराधशास्त्री सुरज बस्नेत बताउँछन् । उनका अनुसार हाम्रोमा रहेको नीतिगत कमजोरीकै फाइदा उठाएर चिनियाँ अपराधि सक्रिय बनेका हुन् ।

भ्रमण वर्षलाई लक्षित गरेर खुकुलो भिसा नीति अपनाएको र, चिनियाँ नागरिकलाई अझै बढि छुट दिएका कारण अपराधिहरुले त्यसकै फाइदा उठाएको बस्नेत बताउँछन् । चिनियाँ नागरिकहरु जनावरका अंग, लागुऔषध, डलरदेखि ८८ किलो सुनसम्म तस्करी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् ।

चिनियाँहरुले सांगठनिक रुपमै आफ्नो सञ्जाल बनाएर यस्ता अपराधिक कृयाकलाप गर्ने गरेको पाइएको छ । चिनियाँ अपराधिहरुले स्वभाविक रुपमा बढाएको सक्रियबाट कुनै दुर्घटना हुँनु अगाडी नै धेरै व्यक्ति पक्राउ परेका छन् । तर, चिनियाँ अधिकारीहरुले नै दिएको जानकारी अनुसार यस्ता व्यक्ति अझै ४ सय भन्दा बढि नेपालमा सक्रिय छन् । यी ४ सयलाई पक्राउ गर्न नसकिए यिनले अझै ठूलो अपराधिक घटना घटाउन सक्ने आंकलन गरिएको छ ।

यस्तो छ चिनियाँ नागरिकको अपराध श्रृंखला :

मिति– २०७६ पुस ०७ गते

पक्राउ संख्या– १ सय २२

कारण– वित्तीय अपराध गरेको आंशकामा

बैकका एटिएमहरू ह्याकिङ, वित्तीयसहित विभिन्न अपराधमा संलग्न भएको आशंकामा पक्राउ गरिएको हो ।

मिति– २०७६ मंसिर १२ गते

पक्राउ संख्या– ३ जना

कारण– सुन तस्करी

हङकङ हुँदै नेपालमा सुन तस्करीको प्रयास गरेका उनीहरुबाट ८ किलो सुन बरामद भएको थियो ।

मिति– २०७६ भदौ १२ गते

पक्राउ संख्या– ४ जना

कारण– मानव तस्करी

बिहेका नाममा नेपाली युवतीलाई चीनतर्फ लग्न थालेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

मिति– २०७६ भदौ १४ गते

पक्राउ संख्या– ६ जना

कारण– ह्याकिङ गरेर वित्तिय अपराध

एटिएम ह्याकिङ गरेर एकै दिनमा तीन करोड रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

मिति– २०७६ साउन २० गते

पक्राउ संख्या– एक जना

कारण– सुन तस्करी

हङकङबाट कपडाको बेल्टमा लुकाएर नेपालमा ४ किलो सुन भित्र्याउने प्रयास गरेका बेला प्रहरीले पक्राउ गरेको हो ।

मिति– २०७५ चैत २७ गते

पक्राउ संख्या– ३ जना

कारण– सुन तस्करी

साढे तीन किलो सुनसहित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले मलद्वारमा लुकाएर सुन तस्करीको प्रयास गरेका थिए ।

मिति– २०७५ कात्तिक १२ गते

पक्राउ संख्या– २ जना

कारण– अवैध रूपमा डलरको कारोबार

एक लाख २२ हजार चार सय डलरसहित प्रहरीले २ चिनियाँलाई विमानस्थलमा पक्राउ गरेको थियो ।

मिति– २०७५ भदौ ४ गते

पक्राउ संख्या– ३ जना

कारण– वन्यजन्तुको तस्करी

समुद्री घोडा तथा बाघको छाला तस्करी गरेको अवस्थामा प्रहरीले ठमेलबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

मिति– २०७५ वैशाख २३ गते

पक्राउ संख्या– ६ जना

कारण– सुन तस्करी

महिलासहित ६ चिनियाँ विमानस्थलबाटै साढे ४ किलो सुनसहित पक्राउ परेका थिए ।

मिति– २०७४ माघ १५ गते

पक्राउ संख्या– ३ जना

कारण– वन्यजन्तु तस्करी

अफ्रिकाको कंगोबाट टर्की हुँदै नेपाल आएका चिनियाँ एक सय ६२ केजी सालकको खपटा सहित पक्राउ परेका थिए ।

मिति– २०७४ पुस ८ गते

पक्राउ संख्या– एक जना

कारण– सुन तस्करी

जुत्ताभित्र लुकाएर २ किलो सुन तस्करी गर्न खोज्ने चिनियाँ युवतीलाई प्रहरीले विमानस्थलमै पक्राउ गरेको थियो ।

मिति– २०७४ असोज १३ गते

पक्राउ संख्या– एक जना

कारण– अवैध रकमको कारोबार

चिनियाँ महिलालाई ४६ हजार चार सय ८० अमेरिकी डलरसहित नेपालबाट भुटान जान खोज्दा प्रहरीले पक्राउ गरेको थियो ।

मिति– २०७४ असोज ४ गते

पक्राउ संख्या– एक जना

कारण– डलर तस्करी

रसुवामा प्रहरीले चिनियाँ नागरिक ली वानलाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो ।

मिति– २०७४ भदौ १८ गते

पक्राउ संख्या– दर्जन बढि

कारण– सुन तस्करी

प्रहरीले ठमेलबाट ८८ केजी सुन बरामद गरेको थियो । सुन तस्करीका मुख्य नाइके चिनियाँ भएको खुल्यो ।

मिति– २०७३ माघ ७ गते

पक्राउ संख्या– एक जना

कारण– डलर तस्करी

रसुवाको टिमुरेबाट चिनियाँ नागरिक वाङ चुङ १८ हजार चार सय ३२ अमेरिकी डलरसहित पक्राउ परेका थिए ।

मिति– २०७३ माघ १ गते

पक्राउ संख्या– ३ जना

कारण– विदेशी मुद्राको तस्करी

दुई लाख ६० हजार अमेरिकन डलर, एक लाख १८ हजार युरो र केही अस्ट्रेलियन डलरसहित रसुवातर्फ जाँदै गरेका तीन चिनियाँलाई प्रहरीले नागढुंगामा पक्राउ गरेको थियो।

मिति–२०७३ जेठ १५ गते

पक्राउ संख्या– एक जना

कारण– लागुऔषध कारोबार

लागुऔषध नियन्त्रण ब्युरोले तीन केजी कोकिनसहित चिनियाँ नागरिक चुन म्यानलाई पक्राउ गरेको थियो । जसमा संलग्न केही व्यक्तिहरू चीनमै रहेको खुलेको थियो ।

यसरी पछिल्लो तीन वर्षमा मात्रै विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा सयौं चिनियाँ नागरिक पक्राउ परेका छन् । पछिल्लो समय यो क्रम अझै बढ्दै गएको प्रहरी तथ्यांकले देखाउँछ । सभार reportersnepal.com

Back to top