×

वीरगंज, पुष ८ - उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। हिजोको मन्त्रिपरिषद् बैठकमा आफूले राखेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि यादवले आज राजीनामा दिएका हुन्।

यादवसँगै समाजवादीका मन्त्री माे. इस्तियाक राइले पनि राजीनामा दिएका छन्।

हिजोमात्रै समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष तथा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका थिए। सोमबारको मन्त्रिपरिषद् बैठकमा यादवले संविधानमा सुधार गर्नुपर्ने विषयहरु पहिचान गरी संशोधनको मस्यौदासमेत तयार पार्नका लागि विज्ञ समिति गठनको प्रस्ताव राखेका थिए।

संविधानमा कतिपय व्यवस्थाहरु मस्यौदाको दृष्टिले परिमार्जन गर्नुपर्ने वा कतिपय व्यवस्थाहरुमा रहेका अन्तरविरोध सम्बोधन गर्न विज्ञ समूह गठन गर्नुपर्ने उनको प्रस्ताव थियो।

उनको प्रस्तावमा ख्यातिप्राप्त संविधानविद्, सर्वोच्च अदालतका पूर्व न्यायाधीशमध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र नेपाल कानुन आयोगका अध्यक्ष, उपाध्यक्ष, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तोकेका तीन जना संविधानविद् सदस्य तथा कानुन मन्त्रालयले तोकेको व्यक्ति सदस्य सचिव रहने गरी विज्ञ समूह गठन गरिनुपर्ने उल्लेख छ। प्रस्तावमा उक्त समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले चार महिना रहने भनिएको छ।

तर, प्रधानमन्त्री ओलीले यादवको प्रस्ताव ठाडै अस्वीकार गरिदिएपछि यादव बैठकबाट बाहिरिएका थिए।

Back to top