वीरगंजको घण्टाघरमा सरीसवा (श्रीसिया) नदी प्रदुषणमुक्त बनाउन दुई दिने हस्ताक्षर अभियान शुरु

112


 

वीरगंज ६ मंसिर । सरीसवा (श्रीसिया) नदी प्रदुषण मुक्त अभियानले आज वीरगंजको घण्टाघरमा हस्ताक्षर अभियान शुरु गरेको छ । अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीको अध्यक्षतामा दुई दिने हस्ताक्षर अभियान शुरु गरिएको हो ।


स्वच्छ “नदी पवित्र जल स्वस्थ जिवन समृद्ध वीरगंज” भन्ने मुल नाराका बिहान ८ बजे शुरु गरिएको अभियान साँझ ६ बजे सम्म जारी रहने संयोजक कुर्मीले जानकारी दिनुभयो । अभियानलाई सम्बोधन गर्दै संयोजक कुर्मीले स्वच्छ वातावरण बिना स्वच्छता कर नदिन स्थानियलाई आग्रह गर्नुभयो ।

उहाँले नेपालको संबिधानको धारा ३० ले आम नेपालीलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाच्ने संवैधानिक सुनिश्चिता गरेको बताउनुभयो । उहाँले वीरगंज महानगरपालिका र यस क्षेत्रमा रहेको छाला,सिमेन्ट,सावुन लगायतका उद्योगहरुले आफना उद्योगबाट छाई, जिवका अवशेष ,रौ र केमिकलयुक्त बिषादी फोहर पानी सिधै सरीसवा नदीमा मिसाउदा आसपासका स्थानियलाई समस्या हुने गरेको बताउनुभयो ।

उहाँले बिषादी युक्त पानीले गर्दा आम जनतामा क्यान्सर, मुटुरोग र छाला रोगको प्रकोप बढदै गएको समेत जानकारी दिनुभयो । राजपा नेपालको केन्द्रिय उपाध्यक्ष समेत रहेका कुर्मीले मुख्यमन्त्रीले स्वच्छता कर लिए पनि स्वच्छ वातावरण तर्फ कुनै कदम नचालेको र स्वच्छता करको पैसा अनावश्यक प्रचारमा खर्च गरेको आरोप लगाउनुभयो ।

उहाँले वीरगंजलाई प्रदुषण मुक्त बनाउन अभियानमा जुट्न सवैलाई आग्रह गर्दै त्यसका लागि सम्पुर्ण वीरगंजवासीलाई अभियानमा होमिन अनुरोध गर्नुभयो । उहाले संर्घष समिती सरिसवा नदीलाई प्रदुषण मुक्त बनाएरनै बिश्राम लिने बताउनुभयो ।

दुई दिने सम्म चल्ने हस्ताक्षर अभियान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र त्यसपछि थप संर्घषका कार्यक्रम गरिने अभियानका सदस्य एवं राजपा वीरगंज नगर अध्यक्ष ओमप्रकाश सर्राफले बताउनुभयो ।

हस्ताक्षर अभियानमा समाजसेवी वृजेश्वर चौधरी, अधिवक्ता पन्नालाल गुप्ता, अभियानका सदस्य ज्ञानेन्द्र कुमार सिंह, कन्हैया पटेल लगायतको सहभागिता रहेको थियो । घण्टाघरमा जारी हस्ताक्षर अभियानमा उत्साहपुर्ण सहभागिता रहेको नगर अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिनुभयो ।