हर्न र प्लाष्टिक निषेध क्षेत्र विरगंज घोषणामै सीमित-मेयर भन्छन् कानून बन्यो, अब कारवाही हुन्छ

115

 

वीरगन्ज १ मंसिर । वीरगञ्ज महानगरपालिकालाई सभ्य, सुसंस्कृत र सफा राख्न भनी थालिएको ‘हर्न र प्लास्टिक निषेध’ घोषणामै सीमित भएको छ । ०७५ पुस १७ गते वीरगञ्ज महानगरपालिकाले नगरलाई ‘हर्न र प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेको भए पनि कार्यान्वयनमा नआएको हो ।



०७५ मंसिर १८ गते बसेको कार्यपालिका बैठकले वीरगञ्ज महानगरपालिकालाई पुस १७ बाट हर्न र प्लाष्टिक निषेध गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप हर्न र प्लास्टिक निषेध गरेको महानगरपालिकाले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेन । घोषणापछि एक साता नगरबासीलाई सम्झाउने र अटेर गरेको खण्डमा जरीवाना लिने भनिएको थियो । तर, महानगरपालिकाले त्यस्तो कुनैपनि गतिवधि गरेन । घोषणा गरेको ११ महिना १६ दिन वितिसक्दा वीरगञ्जमा उस्तै सवारी साधनको हर्नले कोलाहाल र जताजतै प्लाष्टिक देख्न सकिन्छ ।

सवारी चालकले मनलाग्दी चर्को आवाजमा हर्न बजाउने गरेका छन् । वीरगञ्जको मुख्य सडक छेउछाउका व्यापारीहरुले समान बिक्री पछि निस्केको प्लाष्टिक सडकमा फाल्ने गरेका छन् । महानगरपालिका निरिह बनेर तमासा हेरेर बसेको छ । मनलाग्दी गर्ने व्यापारीलाई कारबाही गर्नुको साटो सडकमा जथाभावी फालेको फोहोर राति समेत उठाईन्छ ।

जब कि वीरगञ्ज महानगरपालिकाले ल्याएको फोहोरमैला व्यवस्थापन ऐनमा सरसफाईमा निजी तथा सार्वजनिक साझेदारी अवधारणामा जान सकिने, सेवा शुल्क उठाउन सक्ने र सेवा शुल्क नतिरे सेवा सुविधा रोक्न सक्ने सम्मको व्यवस्था छ । त्यति मात्रै होईन, जथाभावी फोहोर गर्नेलाई महानगरपालिकाले ५ हजारदेखि १ लाखसम्म जरीवाना गर्न सक्ने व्यवस्था ऐनमा छ । तर महानगरपालिकाले कार्यान्वयनमा ल्याउन सकेको छैन ।