×

  बारा  ३० कार्तिक । बाराको सिम्रौनगढमा प्रहरी र स्थानीयबीच झडप भएको छ। भरततर्फ तस्करी भइरहेको सामान नियन्त्रणमा लिन गएको शसस्त्र प्रहरी र स्थानीयबीच सिम्रौनगढ नगरपालिकाको ७ सतुआही नाकामा गए राति शसस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो।

झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले १० राउन्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ। सतुआही नाकाबाट राति ११ बजे चार वटा मोटरसाइकलमा छोहडा लोड गरी भारततर्फ लैैजादै गरेको सूचनाका आधारमा खटिएको प्रहरीले त्यसलाई नियन्त्रणमा लिन खोज्दा  झडप भएको सीमा सुरक्षा बल १२ नम्बर गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बताए।

थोरैै संख्यामा रहेको सुरक्षाकर्मीले तस्करी गर्न लागिएको छोहडा सहितको मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा नाका नजिकै रहेका पर्सा टोलका स्थानीयहरुको सहयोगमा तस्कर समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थापाले बताए। स्थानीयहरु सुरक्षाकर्मीहरुमाथि ढुंगामुढा गर्न थालेपछि तस्कर समूहले छोहडा र मोटरसाइकल लिएर भागेको थापाले बताए।

स्थानीय र तस्कर समूहको आक्रमणबाट बच्नको लागि छोहडा नियन्त्रणमा लिन पुगेको थप सुरक्षाकर्मीले बाध्य भएर १० राउन्ड हवाईफायर गरेको थापाले बताए। पिपरपाती बेस क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक रामबहादुर भण्डारीकोे कमाण्डमा शुरुमा सशस्त्र प्रहरी परिचालन भएको थियो।

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अहिले बाराको विभिन्न नाकाबाट तस्कर समूहले तेश्रो मुलुकबाट नेपाल भित्रयाएका छोहडा, केराउ, कालो मरिच र सुपारी अवैध तरीकाले भारत तर्फ लैजान खोजेको बताए।

नेपालबाट भारततर्फ तस्करहरुले लैजाने ती मालसामानहरुलाई बाराका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिन खोज्दा तस्करहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्नु अपराधको पराकाष्ठा भएको प्रजिअ पोखरेलले बताए। शुक्रवार राति सुरक्षाकर्मीले नियन्त्रणमा लिएको तस्करी गर्न लागिएको छोहडालाई पुनः तस्कर समूहले लुटेर लग्ने कार्यमा संलग्न भएका जोसुकैलाई पनि कारवाही गरिने दावी प्रजिअ पोखरेलले गरे।

Back to top