×

 

काठमाडौं, ३० कात्तिक । सडक विभागअन्तर्गत काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको मनोमानीका कारण काठमाडौंको तीनकुनेस्थित बागमती पुलको निर्माण कार्य अलपत्र परेको छ । विभागले आफैंले गरेको आदेशविपरीत पुलको जग भत्काउन आदेश गरेपछि पुलको निर्माण रोकिएको हो । विभागले २०७५ मंसिर १८ गतेदेखि पत्र लेखेर काम अघि नबाउन निर्देशन दिएपछि निर्माण ठप्प भएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत तीनकुनेमा पुल निर्माणका लागि २०७१ पुसमा सम्झौता भएको थियो । दुईतर्फी १७० मीटर फराकिलो सो पुलको ४ ओटा जगमध्ये तीन ओटाको काम पूरा भइसकेको छ । निर्माण भएका ४ जगका ६४ पाइलमध्ये एउटा पाइलको निर्माणको क्रममा १६ मीटर ढलान गरिसकेपछि माटो भासिएकाले विभाग र निर्माण व्यवसायीबीच सो पिलरमा डेढ टन फलामे डण्डी प्रयोग गरी क्याप ढलान गर्ने सहमति भएको थियो ।

२०७४ भदौ ५ गतेको निर्णय अनुसार आरएनडी कन्सल्टेन्सीको प्रतिवेदनका आधारमा सो डिजाइन पुनरावलोकन गरी काम अघि बढाउन आदेश दिएको थियो । त्यसको एक वर्षभन्दा बढी समय बितिसकेपछि विभागले इन्जिनियरिङ अध्ययन संस्थानमार्फत अध्ययन गर्नुपर्ने निर्णय गरी डिजाइन परिवर्तन ग¥यो । २०७५ मंसिरमा १८ यस्तो निर्णय भएको थियो ।

गत चैत २७ मा सडक विभागका महानिर्देशक, पुल महाशाखा प्रमुख र योजना प्रमुख समेतको सहमतिमा इन्जिनियरिङ अध्ययन संस्थानलाई अध्ययनको अनुमति दिएपछि गत जेठ २३ गते डिजाइन पुनरावलोकन भएको हो । परिवर्तित डिजाइनअनुसार पाइल क्यापलाई यथावत राखी दयाँबाँया पाइल राख्ने प्रतिवेदन दिएको थियो । विभागले अहिले आएर पुनः पाइल क्याप भत्काउन निर्माण कम्पनीलाई आदेश दिएको छ । आयोजना प्रमुख अर्जुन अर्यालले विभागले पटकपटक आफैंले गरेको निर्णयलाई उल्ट्याएर जग भत्काउन आदेश दिएपछि निर्माण कार्य अन्योलमा परेको छ । आदेशमा पुनः निर्माण कसरी गर्ने भन्नेबारेमा कुनै कुरा उल्लेख छैन ।

आयोजना र पप्पु कन्स्ट्रक्सनबीच २०७१ पुसमा निर्माणको सम्झौता भएको थियो । ४२ महीनामा निर्माण सक्ने गरी सम्झौता भएकोमा २ वर्षपछि पुलको नक्सा दिएको थियो । आफ्नै ढिलासुस्तीका कारण समयमा काम नसकिने भएपछि आयोजनाले सम्झौता अवधिलाई २०७७ असारसम्म थपेको छ ।

पुलका ४ ओटा जगमध्ये एउटामा प्रहरी वृत्तको पर्खाल परेको र प्रहरीले सो पर्खाल हटाउन आलटाल गरेपछि अहिलेसम्म काम हुन पाएको छैन । सडक विभागले सो पर्खाल हटाउन २०७४ असोजमा प्रहरीलाई पत्राचार गरे पनि अहिलेसम्म सो अवरोध हटेको छैन । निर्माण स्थलमा विद्युतको पोल र खानेपानीको पाइप अहिलेसम्म नहटेको निर्माण कम्पनीले बताएको छ । जव कि, विभागले प्राधिकरणलाई २०७३ चैत र काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २०७४ असोजमा पत्राचार गरेको थियो ।

अहिले पनि आयोजनाले ५० प्रतिशत साइट उपलब्ध गराउन नसकेको बताइएको छ । आयोजनाको ५० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले बताएको छ । विभागले अहिलेसम्म सम्पन्न भएको कामको साढे ७ करोड रुपैयाँ भुक्तानी अड्काएर राखेको छ । सडक विभागले २०७४ बैशाख ६ गते नै बील भुक्तानीको निर्णय गरेर साढे २ वर्ष बितिसक्दा पनि भुक्तानी भएको छैन ।

विभागको द्वैध मापदण्ड ?

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले काठमाडौंको बिजुली बजारस्थित धोबीखोलमा निर्माण भइरहेको पुलमा यस्तै प्रकृतिको समस्यामा भने विभागले सहजीकरण गरिरहेको भेटिएको छ । जेई कन्स्ट्रक्सनले निर्माण गरिरहेको ११० मीटर लामो पुलको जग र सुपर स्ट्रक्चरमा समस्या आउँदा त्यसैलाई सदर गरेको थियो । म्याद थप, भुक्तानीलगायतमा विभागले नै सहजीकरण गरिरहेको छ ।

Back to top