×

 

बारा २३ कात्तिक। भारतविरुद्ध बाराको निजगढमा प्रदर्शन भएको छ । नेपाल विद्यार्थी सङ्घ निजगढ र नेपाल तरुण दल निजगढको नेतृत्वमा प्रदर्शन भएको हो ।

शहीद चोकबाट निस्केको जुलुस बुद्धचोक हुँदै पुनः शहीद चोकमा पुगी कोणसभामा परिणत भएको थियो । भारतले नेपालको भूभाग भारतीय नक्शामा गाभिएको राजनीतिक नक्शा सार्वजनिक गरेपछि त्यसको विरोध बढ्दै गएको हो । प्रदर्शनकारीहरूले ‘नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो’ लेखिएको ब्यानरसहित ‘गो ब्याक इन्डिया’ भन्ने नारा लगाएका थिए ।

भारतको हेपाह प्रवृत्तिविरुद्ध नेपाल सरकारले डटेर सामना गर्नुपर्ने प्रदर्शनकारीहरूको माग थियो । जुलुसपछि आयोजित कोणसभामा वक्ताहरूले भारतसँग यथाशीघ्र कूटनीतिक पहल थाल्न माग गर्दै नक्शा नसच्चिएसम्म भारतविरुद्ध प्रदर्शन जारी रहने चेतावनी दिए ।

सभामा नेपाल विद्यार्थी सङ्घ निजगढका अध्यक्ष मधु तिमल्सिना र नेपाल तरुण दल निजगढका अध्यक्ष चित्र तिमल्सिनाले मन्तव्य व्यक्त गरेका थिए ।

Back to top