×

 

वीरगन्ज, २२ कार्तिक । यस पटकको पञ्चवर्षीय गढिमाई मेलामा सहभागी भक्तजनहरुले धुले सडकको सामना गर्नु नपर्ने भएको छ । हुलाकी राजमार्ग आयोजनाअन्तर्गत बारामा सडक स्तरोन्नतिले गति लिएपछि मेला अगावै सडक निर्माण सम्पन्न हुने भएको हो ।

वीरगञ्जको प्रतिमाचोकदेखि बाराको बरियारपुरसम्म करीब २० किलोमीटर सडकअन्तर्गत स्थानीयले अरोध पु¥याएको कलैयाका एकाध स्थानबाहेक अधिकांश खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ । हुलाकीको सो खण्डअन्तर्गत ८० प्रतिशत काम पूरा भइसकेको हुलाकी सडक परियोजना कार्यालय वीरगञ्जले जनाएको छ ।

आयोजनाले आयोजनाले सन् २०१७ जनवरीमा सो खण्डको ठेक्का लगाएको थियो । ३० महीनाभित्र काम पूरा गर्ने गरी स्वच्छन्द, समा र पप्पु कन्स्ट्रक्सनले संयुक्तरुपमा ८५ करोड रुपैयाँमा ठेक्का लिएका छन् । यो सडकखण्ड कुनै अप्रत्यासित अवरोध नभएमा तोकिएको समयभन्दा करीब ८ महीनाअघि नै पूरा हुने पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारले बताए ।

सडकमा डेढ मीटर माटो पुरेर त्यसमाथि कालोपत्रेसहित ७० सेन्टिमीटरको सतह बनाइएको छ । ७ मीटर फराकिलो कालोपत्रे, ३ मीटर फुटपाथ र २ मीटरमा नाला निर्माण भएको रौनियारले जानकारी दिए । हुलाकीले बदलिँदै बरियारपुरः एसियामै प्रसिद्ध धार्मिकस्थल गढीमाई बाराको बरियारपुरमा पर्दछ ।

स्तरीय सडकको अभावमा भक्तजनलाई आवतजावतमा समस्या हुने गरेकोमा यो राजमार्ग समयमै स्तरोन्नति भएपछि यहाँको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने स्थानीयबासिन्दा बताउँछन् । गढीमाईमा प्रत्येक ५ वर्षमा धार्मिक मेला लाग्दछ । यो वर्ष मंसिरमा मेला लाग्दैछ । अहिले मेलाको तयारी चलिरहेको छ ।

गढीमाई अत्याधिक बली चढाइने मेलाको रुपमा प्रख्यात छ । अन्य समयमा पनि यहाँ छिमेकी जिल्ला र भारतका सीमावर्ती क्षेत्रबाट भक्तजनको भीड लाग्ने गरेको छ । हुलाकी मार्गको स्तरोन्नतिसँगै सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास स्थानीयको छ ।

Back to top