नेपाल–भारत अन्तरदेशीय ग्यास पाइपलाइन निर्माणको योजना सर्भे शुरू

114

 

वीरगन्ज ११  कात्तिक । नेपाल आयल निगमले नेपाल–भारत अन्तरदेशीय ग्यास पाइपलाइन निर्माणको योजना अघि ल्याएको छ । मोतिहारी–अमलेखगंजसम्म पेट्रोलियम पाइपलाइन विस्तार सम्पन्न भएपछि निगमले अर्को महŒवपूर्ण योजना ल्याएको हो ।



ग्यास पाइपलाइन मोतिहारीबाट चितवनको लोथरसम्म लगिनेछ । निगमले ग्यास पाइपलाइनसँगै अमलेखगंजसम्म ल्याइएको पेट्रोलियम पापलाइनलाई पनि लोथर पु¥याउने तयारी गरेको छ । दुवै योजना निर्माणका लागि निगमले सर्भेको काम शुरू गरेको छ ।

सङ्घीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अमलेखगंजस्थित आयल निगमको क्षेत्रीय डिपोबाट शनिवार सर्भेको शुभारम्भ गरेका छन् । सर्भेको सुरुआत गर्दै मन्त्री यादवले इन्धन र ग्यासको आपूर्ति तथा वितरण सहज बनाउन अर्को दुई महŒवपूर्ण योजना ल्याइएको बताए ।

मन्त्री यादवले पाइपलाइन विस्तारको कामलाई सरकारले क्रमशः विस्तार गर्दै लैजाने बताए । उनले अमलेखगंजबाट द्रुतमार्ग हुँदै काठमाडौंसम्म पाइपलाइन विस्तार गर्ने विषयमा समेत छलफल भइरहेको बताए ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलले दुई योजनाको आन्तरिक काम भइरहे पनि सर्भेको औपचारिक सुरुआत आजबाट गरिएको बताए । पौडलका अनुसार नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनले संयुक्तरूपमा सर्भेको काम गर्नेछ । सर्भे अन्तर्गत स्थलगत निरीक्षण, पाइपलाइन विस्तार गर्न सडक, माटो परीक्षणलगायतका कार्य गरिने पौडेलले बताए ।

दुई योजना निर्माणका लागि झन्डै २५ अर्ब खर्च हुने प्रारम्भिक अनुमान आयल निगमले गरेको छ । योजनाको डिपिआर सम्पन्न भएको र प्रतिवेदन आएपश्चात् योजनाको यकिन विवरण प्राप्त हुने निगमले जनाएको छ ।

निगमको प्रारम्भिक अनुमान अनुसार ६२ किलोमिटरको अमलेखगंज–चितवन
(लोथर) पाइपलाइन विस्तारका लागि पाँच अर्ब ६७ करोड खर्च हुनेछ । लोथरमा इन्धन भण्डारण गर्ने पूर्वाधार निर्माणका लागि चार अर्ब १९ करोड खर्च हुने अनुमान गरिएको कार्यकारी निर्देशक पौडेलले बताए । यसको क्षमता एक लाख किलोलिटरको हुनेछ ।

यसैगरी, नेपाल–भारत सिमानादेखि लोथरसम्म ९८ किलोमिटर ग्यास पाइपलाइन विस्तार गर्न रु ११ अर्ब १९ करोड र ग्यास भण्डारण गर्ने पूर्वाधार तयार पार्न रु तीन अर्ब ८१ करोड खर्च हुने अनुमान गरिएको छ । करीब २० हजार मेट्रिक टन ग्यास भण्डारण गर्ने क्षमतासहितको पूर्वाधार निर्माण हुने कार्यकारी निर्देशक पौडेलले बताए ।

पाइपलाइनको दुवै योजना निर्माण गर्दा रु २४ अर्ब ८६ करोड लागत लाग्ने देखिएको छ । इन्धन र ग्यास भण्डारण गर्ने पूर्वाधार निर्माण गर्न निगमले यसअघि नै लोथरमा २० बिघा जग्गा खरीद गरेको थियो । पाइपमार्पmत् अमलेखगंजबाट लोथरसम्म प्रतिघण्टा २९० किलोलिटर इन्धन र नेपाल–भारत सीमाबाट प्रतिघण्टा एक सय टन ग्यास पाइपबाट आपूर्ति गर्न सकिने निगमको भनाइ छ ।

भारतमा मोतिहारीसम्म मात्रै ग्यास पाइपलाइन विस्तार भएको छ । इन्डियन आयल कर्पोरेशनले रक्सौलसम्म पाइपलाइन विस्तार गर्ने र नेपाल–भारत सीमाबाट चितवनसम्म नेपाल आयल निगमले विस्तारको काम गर्नेछ । यसका लागि दुवै देशका प्राविधिकहरू सर्भेमा जुट्ने आयल निगमका नायब कार्यकारी निर्देशक इन्जिनीयर सुशील भट्टराईले बताए । देशका अन्य भागमा ढुवानी गर्न सहज हुने देखिएकाले चितवनको लोथरलाई केन्द्र बनाएर कामको थालनी गर्न लागिएको भट्टराईको भनाइ थियो ।

यसअघि गत भदौ २४ गते नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याइएको थियो । मोतिहारीबाट अमलेखगंजसम्म विस्तार गरिएको पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । कुल ६९.७ किलोमिटर लम्बाइ रहेको मोतिहारी–अमलेखगंज पाइपलाइन विस्तारमा भारत सरकारले तीन अर्ब २४ करोड भारतीय रुपैयाँ खर्चेको थियो ।

मोतिहारीबाट रक्सौलसम्म ३३.७ र रक्सौलदेखि अमलेखगंजसम्म ३६.२ किलोमिटर दूरी छ । पेट्रोलियम पाइपलाइन उद्घाटनपछि सरकारले इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको थियो ।

प्रदेश २ कि विधायक सीता गुरुङले ढुवानी खर्च कम लाग्ने, बन्द र हडतालको समयमा ढुवानी नरोकिने, चुहावट नहुने र सहज आपूर्ति गर्न सकिने हँुदा पेट्रोलियम पाइपलाइनलाई अत्यन्तै सफल परियोजनाको रूपमा लिन सकिने बताइन् । अमलेखगंजपछि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सरकारको प्रयास अत्यन्तै सकारात्मक रहेको उनले बताइन् ।

सरकारले पाइपबाट ग्यास आउँछ भन्दा नकारात्मक टिप्पणी गर्नेप्रति लक्षित गर्दै विधायक गुरुङले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नगर्नसमेत आग्रह गरिन् ।