×

 

बारा, ४ कात्तिक । चाडपर्वको मौकामा भारतबाट अवैध रुपमा चिनी ल्याएर नेपाली उद्योगको ॅट्याग’ भएको बोरामा प्याक गरेर बिक्री गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका वडा नम्बर २५ बस्ने दिनेश पाण्डे र रमेश तिवारी रहेका छन् । पक्राउ परेका पाण्डे र तिवारीले भारतबाट भन्सार छलेर नेपाल ल्याइएको अवैध चिनी कलैया–६ स्थित पाण्डेकी श्रीमती ईन्दु कुमारी तिवारीको नाममा दर्ता जय हनुमान ट्रेडर्स प्रा.लि.को गोदाममा राखेर बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा.लिको ट्याग भएको बोरामा प्याक गरेर बेचबिखन गर्दै आएका थिए ।

प्रहरीले १ लाख ५० हजार मूल्य बराबरको ३८ बोरा अवैध चिनी, चिनीको बोरा सिलाई गर्ने मेसिन १ थान र विभिन्न चिनी उत्पादन कम्पनीको नाम उल्लेखित खाली बोरा २ सय थान बरामद गरेको छ ।

बरामद गरिएको चिनीसहित पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Back to top