×

वीरगञ्ज ३ कातिक । नेपालका सीमावर्ती बजारमा नक्कली चुरोटको खुलेआम विक्री भइरहेको पाइएको छ । नेपालमा उत्पादन हुने खुकुरी र शिखर ब्राण्डको नक्कली चुरोट भारतबाट भित्र्याएर अवैध धन्धा चलाएको भेटिएको हो । नक्कली चुरोटको कारोबार भइरहेको जानकारी आएपछि प्रहरी र भन्सारले धनुषाका केही स्थानमा छापा मारेर नक्कली चुरोट बरामद गरेको थियो ।

भारतबाट अवैध रूपमा आयातित नक्कली चुरोट अन्तःशुल्कको स्टीकरविनै विक्री भइरहेको भेटिएको छ । नेपालमा ती ब्राण्डका उत्पादक सूर्य नेपाल प्रालिका प्रतिनिधिले सरोकारका निकायलाई नक्कली चुरोटको कारोबारबारेमा जानकारी गराएका थिए । धनुषाको जनकपुर र आसपासका क्षेत्र, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी र रौतहटका सीमावर्ती क्षेत्रमा नक्कली चुरोटको खुलेआम विक्री भइरहेको सूर्य नेपाल प्रालिका २ नम्बर प्रदेश प्रबन्धक प्रकाश भण्डारीले दाबी गरे ।

ती जिल्लाका सीमावर्ती क्षेत्रबाट महीनामा कम्तीमा ५ करोड रुपैयाँबराबरको नक्कली चुरोट अवैध रूपमा भित्रिने गरेको दाबी स्वदेशी उत्पादकको छ । अवैध कारोबारीले प्रतिमहीना करीब ३ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान प्रबन्धक भण्डारीको छ । नियन्त्रणका निकायले कारबाहीमा खासै चासो नदेखाएको आरोप उत्पादकका प्रतिनिधिले लगाएका छन् ।

राजस्व छल्नेलाई सरकार आफैले कडा कानूनी कारबाही गर्नुपर्नेमा मुद्दा चलाउन आग्रह गर्दासमेत त्यस्ता व्यवसायीलाई कारबाही अघि बढाउन सरोकारवाला निकाय सक्रिय नदेखिएको ती प्रतिनिधिले बताए । अन्तःशुल्क छल्ने अवैध कारोबारीलाई थुनामा राखेर कारबाही अघि बढाउन माग गर्दै सूर्य नेपालका विक्रेताहरूले धनुषा प्रशासन, प्रहरी, राजस्व अनुसन्धानलगायतका निकायमा जाहेरी दिएका छन् ।

नक्कली चुरोटको अवैध कारोबारबारे सूर्य नेपालका प्रतिनिधिले जानकारी दिएपछि एक महीनाअघि जनकपुरका विभिन्न स्थानमा छापा मारेर ठूलो परिमाणमा चुरोट बरामद गरिएको थियो । प्रहरीले जनकपुरको माछाबजारस्थित दीपेश किरानामा छापा मारेर नक्कली चुरोटसहित २ जनालाई पक्राउ ग¥यो । तर, पक्राउ परेका दुवै जनालाई प्रहरीले छोडिसकेको छ ।

त्यसैगरी जनकपुर भन्सारले गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर १ लाख १४ हजार रुपैयाँभन्दा बढी मूल्यको खुकुरी र शिखर ब्राण्डको नक्कली चुरोट बरामद गरेको थियो । भन्सारले पनि अनुसन्धानका लागि आवश्यक परे बोलाउने भन्दै व्यवसायीलाई छोडिदिएको थियो ।

२ नम्बर प्रदेशका ८ ओटै जिल्लाको सीमाना भारतसित जोडिएको छ । खुला सीमाना दुरुपयोग गरी व्यवसायीले भारतमा बनाइएको नक्कली चुरोट भित्र्याउने गरेका छन् । यस्तो अवैध धन्धालाई स्थानीय प्रहरी प्रशासनले संरक्षण दिएको आरोप स्वदेशी उत्पादकको छ । सिमानामा अवैध गतिविधि नियन्त्रणका लागि भन्दै सशस्त्र र जनपथ प्रहरी खटाइए पनि नक्कली उत्पादन भित्रिनुले मिलेमतोको आशंका गरिएको छ । सीमावर्ती क्षेत्रबाट सुर्ती र सुपारीजन्य उत्पादनको अवैध आयात भइरहेको छ । abhiyandaily.com बाट

Back to top