×

 

वीरगन्ज १ कातिक । जिल्ला अदालत पर्साले मुस्कान खातुनमाथि एसिड प्रहार गरेका अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश प्रकाश खरेलको एक नम्बर इजलासले अनुसन्धानका क्रममा उमेर पुगेको प्रमाण पेस नभएकाले बाल सुधार गृहमा राख्ने आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साले खातुनमाथि एसिड प्रहार गरेका माजिद मियाँ र सम्साद मियाँलाई घटनाकै दिन नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार माजिदले राखेको प्रेम प्रस्ताव नस्विकारेपछि उनका साथी सम्सादले गत भदौ २० गते विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, पर्साले प्रमाण सङ्कलन गरी उमेरको हकमा मजीद मियाँलाई १९ वर्ष र शमशाद मियाँलाई १८ वर्ष तोकेर पठाएको देखिन्छ । नारायणी अस्पतालले प्रहरीलाई प्रमाणस्वरूप उपलब्ध गराएको मेडिकल रिपोर्ट अनुसार शमशाद आलमको उमेर १६ देखि १८ वर्ष र मजीदको १८ देखि २० वर्ष तोकिएको छ । घरपरिवारले अदालतमा पेश गरेको जन्मदर्ता अनुसार मजीदको २०६२ वैशाख १ गते र शमशादको २०६४ सालमा जन्म भएको थियो ।

यस विषयमा मुख्य न्यायाधीश प्रकाश खरेलले सबुत प्रमाणले दोषी भेटिए पनि उमेर यकिन नहुँदा बालबालिका संरक्षण ऐन २०७५ अनुसार दुवैजनालाई सुधारगृहमा पठाएको बताए । प्रहरीले दाबी गरेको प्रमाण र मेडिकल रिपोर्टको आधार मान्दा न्यूनतम उमेरलाई कानूनले आधार मानेकोले सोहीअनुरूप दुवैजनाको उमेर १६ देखि १८ वर्ष देखिएकोले नाबालिगको हकमा बाल सुधारगृहमा पठाएको बताए ।

अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले नाबालिगको हकमा पुर्पक्ष नहुने तर बाल सुधारगृह पठाइएको जानकारी गराए । उनले मुद्दाको टुङ्गो नलागेसम्म ती बालकहरू सुधारगृहमा कडा सुरक्षाको बीचमा राखिने बताए । बालिगको हकमा मुद्दा टुङ्गो नलागेसम्म कारागार पठाउने गरेको र कारागारमा राखी अनुसन्धान प्रक्रिया पूरा गरी मुद्दाको छिनोफानो हुने गरेको उनले बताए ।

प्रहरीले दुवैजनामाथि ज्यान मार्ने नियत तथा तेजाबलगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अनुसार शमशादमाथि ५ देखि ८ वर्ष कैद र रु १ लाखदेखि ५ लाखसम्म जरिवाना तथा मजीदमाथि १० वर्ष कैद र रु १ लाख जरिवानाको मागदाबीसहित जिल्ला अदालतमा फाइल दर्ता गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले दाबी गरेको उमेर तथा परिवारले पेश गरेको प्रमाणको जाँच प्रक्रिया शुरू भइसकेको न्यायाधीश खरेलले जानकारी दिए । हिजो भएको थुनछेक बहसले मात्र सबै कुरा हुँदै बालिग भएको भए कारागारमा राखेर अनुसन्धान हुन्थ्यो तर नाबालिग भएकोले बाल सुधारगृहमा पठाएको बताए ।

भदौ २० गते छपकैया निवासी मुस्कान खातुनमाथि गणेशमान चोकनजीक दुवैजनाले एसिड प्रहार गरेका थिए । सो घटनालाई लिएर नेपाल–भारतका चर्चित व्यक्तित्वहरूले आआप्mनो अभिव्यक्ति दिएका थिए भने जिल्लाका राजनीतिक दलहरूले पनि आआप्mनो धारणा प्रस्तुत गरेका थिए ।

Back to top