×

वीरगञ्ज, ८ असोज । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संघीयताले केन्द्रको अधिकारलाई प्रदेश र स्थानीय तहसम्म पु¥याएकोले अब संघीय सरकारलाई गाली गरेरमात्रै जिम्मेवारी पूरा नहुने बताएका छन् ।

बुधबार बराको प्रसौनी गाउँपालिकमा छात्राहरुलाई साइकल बितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सोनलले संघीयताले अधिकार विकेन्द्रित गरेकाले विकासको दायित्व पनि विकेन्द्रिकरण भएको बताए ।

संघ सरकारसँग स्रोतसाधन र अधिकार बाँडफाँटको विषयमा विमति समाधान भइनसके पनि प्राप्त अवसरलाई विकासमा रुपान्तरण गर्न पर्न नहुने सोनलको भनाइ थियो । ‘संघ सरकारसँग केही असमझदारीहरु छन्, त्यसलाई समाधान गर्दै जाउँला । तर, अब गालीमात्र गरेर पनि जिम्मेवारी पूरा हुन सक्दैन,’ उनले भने ।

समाजको विकासका लागि छोरी शिक्षित हुनुपर्नेमा जोड दिँदै मन्त्री सोनलले अब महिलामैत्री विकासको आवश्यकता रहेको बताए । छोरा र छोरीमा अझै पनि विभेद गरेको उनले बताए । लैंगिक विभेदको अन्त्य नभएसम्म विकासले गति लिन नसक्ने स्पष्ट पार्दै प्रदेश सरकार छोरीलाई शिक्षित बनाएर सुसस्कृत समाजको निर्माणमा लागि परेको स्पष्ट पारे ।

छोरीलाई पढाएर र वनलाई बढाएर विकासको आधार निर्माण गरिनुपर्नेमा उनको जोड थियो । प्रदेश सरकारले छोरीलाई शिक्षित बनाएर सामाजिक रुपान्तरणको जग बलियो बनाउन प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ योजना अघि सारेको मन्त्री सोनलले बताए ।

प्रदेश २ सरकारले छोरीलाई स्कुल पठाउने प्रवृत्ति बढाउन साइकल बितरण योजनालाई आक्रमक रुपमा अघि बढाएको छ । मन्त्री सोनलले प्रसौनी गाउँपालिका वडा नम्बर ४ स्थित नेरामाविका ५६ जना छात्रालाई साइकल बितरण गरे ।

विद्यालयका प्रधानाध्यापक रविन्द्रकुमार गिरीको अध्यक्षतामा भएको सो समारोहमा जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंह, गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ता, राजपा केन्द्रीय सदस्य श्याम गुप्ता, रामदर्शन साह, नेपाली कांग्रेसका सौरव गुप्ता, नेकपाका नासिद हुसेनलगायतले मन्तव्य राखेका थिए । वडा नम्बर २ को बेगा साह माविका ९६ जना छात्रालाई पनि साइकल बितरण गरिएको थियो ।

Back to top