×

वीरगंज ७ असोज । पूर्णब्रह्म कबीर उपासक समाज, नेपाल तथा समस्त भक्तजनको आयोजनामा सोमबार कलैयामा विशाल आध्यात्मिक शान्ति ¥याली निकालियो ।

कलैया उमनपा–३, श्री सिद्धेश्वर संस्कृत माविको खेल परिसरबाट निस्केको ¥याली कलैया नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः खेल परिसरमा पुगेर सम्पन्न भएको थियो ।

¥याली समाजमा विद्यमान समस्या निराकरण गर्ने उद्देश्यले निकालिएको थियो । नशामुक्त समाज निर्माण, पशुबलि तथा दहेज प्रथाको अन्त, छुवाछूतजस्ता सामाजिक विभेदको अन्त, भ्रष्टाचारजस्तो सामाजिक विकृतिको अन्त्यलगायत उद्देश्य राखेर ¥याली निकालिएको आयोजकले जानकारी गराएको छ ।

प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि जितेन्द्र सोनलले सबै धर्म समान रहेको बताएका थिए । सम्पूर्ण धर्मको मानव समाजमा शान्ति स्थापना गर्नु एकमात्र उद्देश्य रहेको बताउँदै उनले जुनसुकै धर्म माने पनि सबैको भलो चिताउनुपर्छ भनेका थिए । असल समाजको निर्माणमा जोड दिनुपर्छ । सबैलाई समान दृष्टिले हेर्नुपर्छ मन्त्री सोनलले सभालाई सम्बोधन गर्दै भने । असल व्यक्तिको निर्माण भए राष्ट्रको निर्माण हुन्छ ।

मन्त्री सोनलले व्यक्ति निर्माण भए मात्र राष्ट्र निर्माण गर्न सकिने बताए । कार्यक्रममा जिसस प्रमुख नवलकिशोर सिंह, उद्योग वाणिज्य सङ्घ, कलैयाका महासचिव जयप्रकाश साह लगायतको उपस्थिति थियो । त्यस्तै उक्त अवसरमा समाजले सोमबार बृहत् खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

श्री सिद्धेश्वर खेल परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा, पूर्णब्रह्म कबीर उपासक समाजका सदस्य तथा ¥यालीमा सहभागीहरूले रक्तदान गरेका थिए ।

Back to top