×

वीरगंज २४ भदौ । पर्सा जिल्लामा चापाकलको चरम दुरुपयोग भइरहेको पाइएको छ । संसदीय विकास कोष, प्रदेश सांसद र स्थानीय तह तथा विभिन्न सरकारी, गैरसरकारी संस्थाहरूबाट जडान हुने चापाकलको दुरुपयोग भइरहेको स्रोतले जनाएको छ ।

एक तथ्याङ्क अनुसार सांसद, प्रदेश सदस्य र स्थानीय तह अन्तर्गत महानगर, ३ नगरपालिका र १० वटा गाउँपालिकाले चापाकल जडान गर्दा उद्देश्यअनुरूप नगरी कार्यकर्ताहरूलाई प्रदान गर्न दिने र आर्थिक लाभ हुने गरी काम गरिरहेको देखिन आएको छ ।

गत वर्ष ५ हजारभन्दा बढी चापाकल पर्सा जिल्लामा जडान भएको देखिन्छ तर सयवटा पनि चापाकल सार्वजनिक महत्वको विषय र समुदायले उपभोग गर्ने गरी जडान भएको छैन ।

वीरगंज मनपाका मेयर विजयकुमार सरावगीले चापाकल जडान कार्यमा दुरुपयोग भइरहेको बताएका छन् । उनले समन्वयकारी भूमिका निर्वाह नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहले एकै स्थानमा चापाकल जडान गर्ने गरेको बताए । उनले स्थानीय निकायसँग समन्वय नगरिएको कारण यस्तो दुरुपयोग भइरहेको बताएका छन्।

सांसद, प्रदेश सदस्य र स्थानीय तहले चापाकल जडान गर्दा कम्तीमा समुदायका ५ घरधुरीले सो चापाकलको उपभोग गर्न पाउनुपर्ने हो तर अहिले चापाकल जथाभावीरूपमा कार्यकर्ताहरूको घरमा जडान गरिएका छन् भने कतिपयले कागजीरूपमा जडान गरेको देखाएर भुक्तानी लिने गरेका छन् ।

एउटा चापाकल जडानको लागि पाइप, हेड (चापाकल) खरीदमा करीब रु १४ हजार र गाड्न रु ११ हजार रकम लाग्ने गरेको छ । तर धेरैजसोले गाड्ने खर्च आपैंmले राख्ने र चापाकल जडानको लागि पाइप, धारा मात्र उपलब्ध गराउने गरेको पाइएको छ ।

गत वर्ष फागुनदेखि जेठसम्म ५ हजारभन्दा बढी चापाकल जडान गरिएको छ । तर जडान गरिएको स्थानको अवलोकन गर्ने हो भने सयभन्दा बढी भेटिंदैनन् । स्रोतले यस सम्बन्धमा खोजीनीति गर्ने हो भने भ्रष्टाचार पर्दाफाश हुने दाबी गरेको छ ।

पर्सा जिल्लामा सांसद, प्रदेश सदस्य र स्थानीय तहबाहेक नेपाल रेडक्रस सोसाइटी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र विभिन्न गैरसरकारी संस्थाहरूले चापाकल जडान गर्दै अँइरहेका छन् । कतिपय ठाउँमा एकै स्थानमा तीनवटासमेत चापाकल जडान भएको बील, भौचर पेश गरिएको स्रोतले जनाएको छ ।

Back to top