×

वीरगंज, ८ भदौ । वीरगंजको बिर्ता परिसरमा शनिबार साँझ भीमसेन जात्रा भव्यताका साथ मनाउदै सम्पन भएको छ । व्यापार व्यवसायमा लागेका हरेक मानिसले भीमसेनलाई आरध्यदेवका रुपमा पूज्ने गरेका छन् । भीमसेनको पूजा र आरधनाले वैभव वृद्धि हुँदै जाने जनविश्वास छ ।

प्रत्येक वर्ष भाद्र कष्ण नवमीका दिन भीमसेन जात्रा मनाइने चलन रहेको छ । भीमसेनको सानो मूर्तिलाई पीतलको खटमा ल्याएर विराजमान गराई पहिलो चरणमा पूजाआजा गर्ने गरेको समाजसेवी बीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्यले जानकारी दिनुभयो ।

प्राचीनकालदेखि पूज्ने भीमसेनको विराठ मूर्तिलाई उचालेर ल्याउन सम्भव नभएकाले सानो मूर्तिलाई घुमाउने गरिएको छ । सो मूर्तिलाई बिर्ता देखि अलखिया मठ, आदर्शनगर हुंदै माईस्थान मन्दिरको परिक्रमा गरी पुनः बिर्तामा पुगी सम्पन्न भएको थियो । भीमसेनलाई सुगन्धमय धूप साह्रै मन पर्ने भएकाले धुप बालेर विशेष पूजा गरिने नेवार समुदायको भनाइ रहेको छ ।

भीमसेन मन्दिरमा शनिबार बिहानदेखि नै पूजा आराधनाका लागि स्थानीयवासीको ठूलो भिड लागेको नेवार समुदायले बताए । जात्रामा ९० प्रतिशत नेवार समुदायका मानिसले सहभागिता जनाउने गरेका छन् ।

जात्राको क्रममा रथमा राखिएको सो भीमसेनको मूर्तिलाई ‘भीमसेन महाराजकी जय’ भन्ने जय जय कार गरी रथ उठाउने गरेको स्थानीयहरुले बताएका छन् ।

नगरपरिक्रमाको काम समापनपछि सो मूर्तिलाई पाँच वा १० मिनेटबाहिर चोकमा राखी पुनःमन्दिरमा भित्र्याउने चलन रहेकोे नेवार समुदायले जनाएको छ ।

भीमसेन भगवानलाई नगर परिक्रमा गराउँदा कुनै गल्ती भयो की भन्दै हाँस काटेर क्षमा पूजा गर्ने चलन रहेको छ । भगवान भिमसेनको दर्शन गर्न हजारौ मानिस मन्दिर आउने गरेका छन् । सो दिनमा नेवार समुदायका मानिसले सकेसम्म भोजभतेर खाने परम्परा रहेको बताइएको छ ।

जात्रामा अगाडि भीमसेनको रथ पछाडि विभिन्न बाजागांजा, झाँकीको साथै लाखेको नाच समेत रहेको थियो । जात्राको चाँैथो दिन बोका काटी चतुर्थी पूजा गरेर करीब सात समय मानिसले भोज खाने गरेका छाँै ।

विगतमा जात्रामा उठाउँदै आएको चन्दा संकलन यसपटक नेवार समुदायले सो चन्दा संकलन नगरी आफ्नै खर्चमा जात्रा निकालेको थियो ।

सोे जात्रामा वडा नं. ४ का जगत साह कानु, जुलम खडकी, अरबिन्द अमात्य, प्राण राजपति, नारायण श्रेष्ठ, रुपेश मानन्धर, सत्यम खडकी, भोला मानन्धर, इश्वर श्रेष्ठ, इन्दु रन्जितकार, रोशनी श्रेष्ठ, रुबी श्रेष्ठ, कबिता खडकी, लगायत स्थानीय बुद्धिजिवी, समाजसेवी र संचारकर्मीको बाक्लो उपस्थिती रहेको थियो भने प्रहरी प्रशासनले राम्ररी शान्ति सुरक्षाको व्यवस्था मिलाएको थियो ।

Back to top