×

वीरगञ्ज ६ भदौ । नेपाल विद्युत् प्राधिकरणको बदमासीका कारण वीरगञ्जको एउटा औद्योगिक घरानाले आफ्नै थर्मल प्लान्ट स्थापना गरी विद्युत् उत्पादन शुरू गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको अनियमित विद्युत् आपूर्तिबाट आजित वीरगञ्जको एउटा औद्योगिक घरानाले आफ्नै थर्मल प्लान्ट स्थापना गरी विद्युत् उत्पादन शुरू गरेको छ । रुङ्गटा समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा आफ्नै थर्मल प्लान्टबाट उत्पादित बिजुलीबाट ओसीबी फुड एन्ड फिड प्रालि सञ्चालन गरिरहेको छ । यस उद्योगका लागि प्राधिकरणबाट विद्युत् आपूर्ति लिइएको छैन ।

धानको भुस जलाएर उत्पादन गरिएको विद्युत्बाट ओसीबी फुड एन्ड फिड चलेको रुङ्गटा समूहका कार्यकारी सञ्चालक सुरेश रुङ्गटाले बताए । ‘विद्युत् प्राधिकरणबाट लिइएको बिजुलीको कम भोल्टेज र पटकपटक विद्युत् कट्ने समस्याले गर्दा आफै विद्युत् उत्पादन गर्नु परेको हो,’ रुङ्गटाले भने, ‘निरन्तर विद्युत् उपभोग गर्न पाइएको छ । अहिले यो उद्योगमा ऊर्जाको कुनै समस्या आएको छैन ।’

६ महीनादेखि सञ्चालनमा आएको यो उद्योगले आफ्नै विद्युत् प्लान्टबाट २ दशमलव २ मेगावाट विद्युत् उत्पादन गर्न सक्छ । अहिले उद्योगका लागि आवश्यक १ दशमलव ९ मेगावाट मात्र उत्पादन भइरहेको रुङ्गटाले बताए । बढी भएको विद्युत् विक्रीका लागि उद्योगले प्राधिकरणसँग सम्झौता पनि गरेको छ ।

रू. १ अर्बको लागतमा यो उद्योग सञ्चालनमा ल्याइएको हो । विद्युत् प्लान्ट स्थापना गर्न रू. २० करोड लगानी भएको रुङ्गटाले बताए । उद्योगबाट सोया र पाम आयल उत्पादन भइरहेको छ । रुङ्गटा समूहकै चामल उद्योग ओम एग्रो प्रोडक्टको बाइप्रोडक्ट भुस जलाएर विद्युत् उत्पादन गरिएको छ ।

यो उद्योगमा परीक्षणका रूपमा विद्युत् प्लान्ट शुरुआत गरिएको रुङ्गटाले बताए । विद्युत् प्लान्टलाई अन्य उद्योगमा पनि विस्तार गर्ने योजना रहेको उनले बताए । एउटै परिसरमा यो समूहले पाँचओटा उद्योग सञ्चालन गरिरहेको छ । यसरी उत्पादित बिजुलीको खर्च प्राधिकरणको महसुलकै हाराहारीमा परेको जानकारी रुङ्गटाले दिए । ‘ऊर्जाको दर उस्तैउस्तै छ । तर, कम भोल्टेज र ट्रिपिङको समस्या खेप्नुपरेको छैन,’ उनले भने । उद्योगको प्लान्टबाट उत्पादित बिजुली प्रतियुनिट ११ रुपैयाँ परेको उद्योगले बताएको छ ।

विद्युत्को आपूर्ति नियमित र स्तरीय नहुँदा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका अधिकांश उद्योगले कच्चा पदार्थ खेर जाने, उद्योगका उपकरण बिग्रिने र तयारी वस्तुको गुणस्तरमा समेत समस्या भोग्दै आएका छन् । बढी विद्युत् खपत गर्ने अधिकांश उद्योगमा यस्तो समस्या देखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।

कोरिडोरमा साना ठूला गरी १ हजारभन्दा बढी उद्योग सञ्चालनमा छन् । तीमध्ये खाद्यान्न, फलाम, सिमेन्ट लगायत भट्टीमा आधारित उद्योगमा अनियमित विद्युत् आपूर्तिले कठिनाइ उत्पन्न भएको उद्यमीहरू बताउँछन् । प्राधिकरणले लोडशेडिङ हटाए पनि उद्योगमा अघोषित रूपमा विद्युत् कटौती भइरहेको अध्यक्ष केडियाले बताए । दिनमा कम्तीमा ८ र १० पटक ट्रिपिङ र कम भोल्टेजको समस्या हुने उद्योगीहरूको गुनासो छ ।

Back to top