वीरगन्जबाट सर्वसाधारण करोडौं रुपैयाँ ठगी गरी राजेश र रिना खुलेआम घुम्दै, प्रशासन बन्यो रमिते

2352

वीरगञ्ज, ३२ साउन । वीरगन्जबाट करोडौं रुपैयाँ लिएर फरार भएका सहरकारी सञ्चालक दम्पत्ति राजेश पटेल र रिना पोखरेल केही महीनाको गुप्तवासपछि अहिले नेपालका सहरहरुमा घुमफिर गरिरहेका छन् । सुरुमा उनीहरुको खोजीमा चासो देखाएको पर्सा प्रशासन यतिखेर उनीहरुविरुद्धको कारवाहीमा उदासीन देखिएको छ । पटेल दम्पत्तिले प्रहरी प्रशासनलाई सेटिङ मिलाएर अहिले विभिन्न सहरमा हिँडिरहेका छन् । उनीहरुले पुनः सर्वसाधारण ठग्ने योजनाका तानाबना बुनेको बताइएको छ । कारवाही नगरी उनीहरुलाई सहयोग गरेवापत सरोकारका निकायलाई मोटो नजराना चढाएको स्रोतको दाबी छ ।

उनीहरुले सर्वसाधारणहरुको करोडौ रकम लिएर सम्पर्कबिहीन भएको ४ महिना बितिसकेको छ । सुरुका केही समय लुकेर बसे पनि अहिले खुलेआम हिँडिरहेका छन् । वीरगञ्ज महानगरपालिकाको लिंकरोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी सस्थाका सञ्चालक रहेका उनीहरुले गत बैशाखमा बैंकमा ताल्चा लगाएर सबै साधारणहरुको करोडौ रकम लिएर फरार भएका थिए ।


पटेल सो सहकारीका अध्यक्ष हुन् भने उनकी श्रीमति पोखरेल कोषाध्यक्ष हुन् । उनीहरु फरार भएपछि अन्य सञ्चालक र एजेण्ट पनि सदस्यको सम्पर्कबाट बाहिरिएका थिए । पीडित सदस्यहरुले उनीहरुलाई पक्राउ गरी आफ्नो बचत रकम फिर्ता गराइदिन माग गर्दै प्रशासन गुहारेका थिए । तर, प्रशासनले सुरुमा सक्रियता देखाए पनि अहिले कारवाहीमा कुनै चासो नराख्नुले मिलेमताको आशंका बलियो भएको उनीहरुको आरोप छ । प्राईम बचत तथा ऋण सहकारी सँस्था २०६६ साल बैशाख २ गतेदेखि सञ्चालनमा आएको थियो ।