×

संजय सहनी, रौतहट, २७ साउन । पूर्व पश्चिम राजमार्गको चन्द्रपुर चोकमा रहेका व्यापारिक पसलमा चोरी गर्ने उद्देश्यबाट स्कारपिओ सहित आएका एक भारतीय नागरिक सहित दुई जना चोरलाई रौतहट प्रहरीले आईतवार राति नियन्त्रणम लिएका छन् ।

विआर ०५ पि ३६४६ नम्वरको स्कारपिओ जिप चढेर चोरी गर्ने उद्देश्यबाट पुर्व पश्चिम राजमार्गको चन्द्रपुर आएका चार जना व्यक्तिले न्यु स्याम मोवाईल पसलमा चोरी गर्ने तयारी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरी टोलीले राति २.३० बजेको समयमा भारतीय नागरिक सहित दुई जनालाई नियन्त्रणमा लिएका हुन् ।

पक्राउ पर्नेमा गौर नगरपालिका वडा नम्वर ५ बस्ने ३४ बर्षका प्रमेशंकर यादव र भारत बिहार सितामढी जिल्लाको खडका पंचायत, रामपुरका ३० बर्षका लोकेश कुमारलाई ईलाका प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुसंगै रहेका दुई जना व्यक्ति फरार भएपनि उनीहरुलाई चाडै पक्राउ पर्ने ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए ।

चन्द्रपुर नगरपालिका भित्र विगत केही दिन देखि चोरीका घटनाहरुमा वृद्धि भईरहदा प्रहरी माथि जनताको विश्वास गुम्दै गएका थिए । चन्द्रपुर बजार र चोकको विभिन्न स्थानहरुमा सिसिटिभी क्यामरा जडान भएपनि चोर समुहले सटर काटेर चोरी हुने घटना बढ्दै जाँदा रातिको समयमा पनि प्रहरीको गस्ती टोली परिचालन हुन थाल्दा तथा सिसिटिभी क्यामराको निगरानीका कारण स्करपिओ चढेर आएका दुई जनालाई चोरलाई समात्न प्रहरी सफल भयो ।

पक्राउ परेका दुईजनाको साथ बाट प्रहरीले सटर काटन प्रयोग हुने वायर कटर र तीन थान मोवाईल समेत बरामद गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

Back to top