वीरगन्जमा अवैध हुण्डीको कारोबार बढ्दै, कोको हुन हुण्डीको कारोबारी, १६ अर्ब ६६ करोडको मुद्दा दायर

2945

वीरगन्ज २२ साउन । पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगन्जबाट हुण्डीको कारोबार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ ।

आर्थिक वर्षमा वीरगन्जबाट हुण्डीको कारोबार गर्ने व्यक्ति मध्य भारतको रक्सौल घर भएका रितेशकुमार गुप्ता अग्रवाल, वीरगन्ज १६ लिंकरोडका राजेश्वर रौनीयार, वीरगन्ज ८ कुम्हाल टोलका विमित अग्रवाल र मनोज पटेल थिए । उनिबाट ५६ लाख नगद र विभिन्न बैंकका चेक बुकसहित पक्राउ गरेका थिए ।



यसै गरि जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज–१२ रानीघाटका राहुल केशरीको घरमा तलाशी गर्दा रु १ करोड १५ लाख ५ हजार १५० बरामद गरेको थियो । त्यसलगत्तै प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकाको अधारमा केशरी सहित ७ जनालाई हिरासतमा लिएका थिए ।

पैसाको स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्रा्ष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा पर्सा जिल्लामा फस्टाउँदै गएपछि यस प्रकारको अवैध धन्धालाई निरुत्साहित पार्न प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेको छ ।

आव २०७५र७६ मा अवैध हुण्डी कारोबार तथा विदेशी मुद्रा अपचलन गरेको अपराधमा राजश्व अनुसन्धान कार्यालय पथलैयाले १३ जनालाई प्रतिवादी बनाई ६ वटा अवैध हुण्डी कारोबार तथा विदेशी मुद्रा विनिमयसम्बन्धी मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा १६ अर्ब ६६ करोड ४ लाख ३७ हजार ६ सय ५९ रुपैयाँ बिगो र सजायसम्बन्धी मुद्दा दायर गरेको राजश्व कार्यालयका सूचना अधिकारी मिराज शर्माले बताए ।

मुद्दा दायर गरेका अभियुक्तसँग २९ लाख ९५ हजार ९ सय ३४ रुपैयाँ धरौटी रकम माग गरेपछि अभियुक्तले सोहीअनुसारको धरौटी रकम दाखिला गरे पनि विभिन्न अदालतमा ति मुद्दा विचाराधीन अवस्थामा रहेको जनाइएको छ ।

यसैगरी राजश्व चुहावट गर्ने ३९ जनालाई प्रतिवादी बनाई १५ मुद्दा दर्ता गरिएको छ। उनीहरुसँग १ अर्ब १६ करोड ६२ लाख ७८ हजार ७ सय ८२ रुपैयाँ बिगो दाबी गरिएको छ भने २ अर्ब ४२ करोड ४५ लाख ९० हजार ८ सय ८२ रुपैयाँ सजाय रकम माग गरेको छ। उनीहरुसँग १२ करोड ९७ लाख ३४ हजार ९ सय १९ रुपैयाँ धरौटी रकम माग गरिएकोमा ७ करोड ३४ लाख ७१ हजार ३ सय ९२ रुपैयाँ धरौटीबापतको रकम दाखिला गरेको छ ।

यसैगरी सो कार्यालयले देशभरका भन्सार कार्यालयलाई पत्र लेखी अघिल्लो आवमा भन्सार छली गरी राजश्व चुहावट गर्नेसँग ४० लाख ६२ हजार ५ सय ६४ रुपैयाँ असुल गर्न तथा कर कार्यालयलाई पत्र लेखी १२ लाख ९९ हजार ७ सय १४ असुल गर्न भनेको छ। वीरगन्ज नगरक्षेत्रमा हुण्डीको कारोबार गर्ने गिरोह भित्रीरुपमा अझै सक्रिय भएकाले प्रहरीले अनुसन्धान गर्दै आएको जनाएको छ ।