आज नागपञ्चमी मनाइँदै

92

वीरगन्ज २० साउन । हिमाली काखको नेपाली सभ्यतामा प्रकृतिका हर उपजको सम्मान छ । यहाँ चरा पुजिन्छन् । वृक्ष पुजिन्छन् । पर्वतको सम्मान छ । नदीको आदर छ । यति मात्र होइन विषधर सर्पप्रजातिलाई यहाँ नागदेवता मानेर पूजा गरिन्छ । नागको सम्मानमा पर्व नै मनाइन्छ ।

नागपञ्चमी पर्वमा घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।




श्रावण शुक्लपञ्चमीका दिन ब्रह्मासँग विषधर नागको सम्वाद भएको पौराणिक प्रसंगका आधारमा यस तिथिलाई नागपञ्चमी पर्व मानिएको हो ।
वराहपुराणका अनुसार नागराजले आफ्ना समस्याबारे ब्रह्मासँग संवादगरेपछि विषधर नागहरु शान्तभएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । नागपञ्चमीका दिन घरघरमा नागको तस्वीर बनाई द्वारमाथि टाँसेर पूजा गरिन्छ । नागका अष्टकुल अनन्त वासुकि पद्म,महापदम,तक्षक,कुलीर,कर्कोटक शंख नागको चित्र ढोकामाथि टाँसेर दुईतिर कपासको पिउरी सजाई नाग पूजा गरिन्छ । घरमा नाग पूजा गर्दा दूधदही,अक्षता,दुबो,लावा फलफूल चढाई दूध वा खीरको नैवेद्य लगाउने चलन छ ।

यसरी नागको पूजा गर्नाले घरमा चट्याङ वज्रपात नपर्ने,अग्निभय र सर्पदंसको डर नहुने र शरीरमा रोगव्याधि नलाग्ने धार्मिक मान्यता छ ।

ब्रह्मवैवर्त पुराणका अनुसार भगवान श्रीकृष्णको पदचिह्न कालयि नागले शिरमा धारण गर्ने भएकाले नागलाई मार्न हुँदैन भन्ने विश्वास छ ।

नागपूजा गरेपछि नागपञ्चमीका दिन खेतबारीमा खनजोत गर्नु हुँदैन भन्ने गरिन्छ । खनजोत गरेमा जमिनमुनि बसेका नाग काटिनसक्ने र त्यसो भएमा पाप लाग्ने बताइन्छ । नागको नेपाली समाजमा नागपञ्चमीदेखि हिउँदे प्रभाव देखिने र श्रीपञ्चमीदेखि वर्षे याम शुरु हुने लोककथन प्रचलित छ ।

नाग पञ्चमीका दिन जलमूल तथा ठूला जलाशयमा पनि नागको पूजा गर्ने परम्परा छ । जलमूल, इनार कुवा, पोखरी धारामा नागको निवास मानेर नागपूजा गर्ने परम्परा छ । यस्ता जलाशयमा कपास वा पीठाको नाग बनाई त्यसमा तीलको कत्ला, मासको आँखा र दुवाको जिब्रो बनाउने चलन छ । स्पर्शक्षमतामा तेज मानिने सरिसृप प्राणी नागका दुईवटा जिब्रा हुन्छन् ।