प्रदेश २ मा बाढीले कृषिमा साढे तीन अर्ब क्षति, क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि प्रदेशले माग्यो २५ अर्ब

83

वीरगन्ज १३ साउन । बाढीका कारण कृषितर्फ प्रदेश २ मा तीन अर्ब ५९ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीले सबैभन्दा बढी प्रदेश २ का आठ जिल्लामा कृषि तथा पशुपन्छीतर्फ क्षति पुगेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाढीले विभिन्न बालीतर्फ एक अर्ब ९७ करोड र पशुपन्छीतर्फ एक अर्ब ६२ करोड रुपैयाँको क्षति पु¥याएको छ। असार अन्तिम साता परेको अविरल वर्षासँगै बाढी आएको थियो ।



मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार बालीतर्फ ७७ हजार ३४ हेक्टरमा लगाइएको धानको ब्याड, धान, तरकारी, चैते धान, मकैबाली, फलफूल र केरा नष्ट भएको छ। पर्सामा ४४ करोड ८८ हजार, बारामा ५० करोड, रौतहटमा ३५ करोड, सर्लाहीमा आठ करोड, महोत्तरीमा पाँच करोड, धनुषामा २० करोड, सप्तरीमा ३० करोड र सिरहामा पाँच करोड रुपैयाँबराबर बालीमा नोक्सानी गरेको छ।

यस्तै माछातर्फ दुई हजार दुई ३० हेक्टरमा बनाइएका माछा पोखरीबाट दुई हजार आठ सय टन तयारी माछा तथा माछाका भुरा बगेर नष्ट भएको छ। पशुपन्छीतर्फ मुख्य गरी गाई, भैंसी, गोरु, बाख्रा, कुखुरा र हाँसलाई नोक्सान गरेको छ । यसअनुसार रौतहटमा ३५ करोड, बारा र पर्सामा १० करोड, सिराहा र सप्तरीमा ९७ करोड, धनुषामा १५ करोड र सर्लाहीमा पाँच करोड रुपैयाँबराबरको क्षति पुगेको छ ।

प्रतिवेदनअनुसार रौतहटमा गाई र भैंसी पाँच सय, बाख्रा सात सय, कुखुरा ५० हजार, हाँस १५ हजार, बारा र पर्सामा बाख्रा ३४ मरेका छन्। यसैगरी सिरहा र सप्तरीमा कुखुरा १० हजार पाँच सय, हाँस एक हजार पाँच सय, गाई दुई सय २५, भैंसी एक सय १० र बाख्रा पाँच हजारको संख्यामा बाढीका कारण मारिएका छन्। धनुषामा गाई १०, भैंसी १५, बाख्रा ५०, कुखुरा पाँच सय र सर्लाहीमा कुखुरा पाँच हजार एक सय ४५ मारिएका छन्।

यसअघि बाढी र पहिरोका कारण प्रदेश १ को बालीतर्फ १४ जिल्लामा ८१ करोड २८ लाख ९२ हजार तथा सोही प्रदेशको ६ जिल्लामा पशुपन्छीतर्फ २५ लाख ८० हजार रुपैयाँ गरी ८१ करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति किसानले व्यहोरेका थिए।

प्रदेश २ सरकारले बाढी र डुबानबाट पीडितलाई राहत र क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि संघीय सरकारसित २५ अर्ब रुपैयाँ माग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै बाढीबाट प्रदेशमा भएको क्षतिबारे जानकारी गराउँदै बजेट माग गरेका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई बाढीबाट प्रदेश २ मा ३७ जनाभन्दा बढीको मृत्यु भएको र हजारौं परिवार घरबारविहीन भएको ब्रिफिङ गरेका थिए ।

उनले विस्थापित परिवारको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मतमा विशेष जोड दिन प्रधानमन्त्रीसित आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफूले बाढी प्रभावित क्षेत्र भ्रमण गर्ने र सहयोग गर्ने आश्वासन दिएका छन् ।

मुख्यमन्त्री राउतसँगै काठमाडौं पुगेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बाढीपीडितलाई राहत र संरचना पुनर्निर्माण प्रदेश सरकारबाट सम्भव नरहेकाले संघीय सरकारलाई सहयोग मागिएको बताए । ‘संघीय सरकारसँग दीर्घकालीन रूपमा बाढी नियन्त्रणको प्याकेजसमेत मागेका छौं,’ मन्त्री यादवले भने, ‘संघीय सरकारसँग चुरे संरक्षण र भारतीय बाँधले हुने डुबानबारे समेत छलफल भएको छ ।’

प्रधानमन्त्रीसँगको भेटमा नदीको बाँध तत्काल मर्मत गर्ने, भत्केको घर पुनर्निर्माण गर्ने, क्षतविक्षत सडक मर्मत गरी बाढी र डुबानको दीर्घकालीन समाधान खोज्ने विषयमा छलफल भएको मन्त्री यादवले जानकारी दिए ।

भेटमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल र नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सहभागी थिए ।