×

वीरगन्ज १० साउन । पछिल्लो पटक मधेशमा सुरु भएको सशस्त्र आन्दोलनले १५ वर्ष पुरा गरेको छ। जयकृष्ण गोइतको नेतृत्वमा २०६१ सालबाट सुरु भएको सशस्त्र आन्दोलनले साउन १० गते १५ वर्ष पुरा गरी १६ वर्षमा प्रवेश गरेको छ।तत्कालिन नेकपा (माओवादी)बाट छुट्टिएर सशस्त्र आन्दोलन गरी ‘स्वतन्त्र मधेश’ स्थापना गर्ने लक्ष्य लिएर गोइतले आन्दोलन थालेका थिए। त्यसअघि पनि मधेशी टाइगर्सलगायतका सशस्त्र संगठनहरु बनेका थिए तर तिनीहरुले हतियार उठाएका थिएनन्।

गोइतको सक्रियता पछि मधेशमा दर्जनौं भूमिगत सशस्त्र समूहहरु निर्माण भएको थियो। त्यसलगतै भएको पहिलो र दोस्रो मधेश आन्दोलनमा पनि मधेशका सशस्त्र समूहहरु सक्रिय भएका थिए।

तर, मधेशवादी दलहरु सत्तामा आउने वितिकै राज्यबाट सशस्त्र समूहका नेताहरुको हत्या भएको थियो। त्यसै अवधिमा मधेशमा करिब सय जना युवाहरुको गैरन्यायिक हत्या भएको थियो।

त्यसबेला खुलेका दर्जनौं समूह मध्ये हाल गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोचा (क्रान्तिकारी) मात्र सक्रिय छन्। गोइतले आफ्नो सक्रियता देखाउन समय–समयमा विस्फोट लगायतका घटना गराउने गरेका छन्।

मधेश सशस्त्र आन्दोलन १६ औं वर्षमा प्रवेश गरेको अवसरमा गोइतले विज्ञप्ति जारी गर्दै सम्पूर्ण सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

Back to top