×

वीरगन्ज १ सावन । वीरगन्जको विभिन्न वडामा शहरी विकास तथा भवन विभागमातहत रहेको सघन शहरी योजना कार्यालय, वीरगन्जका प्रमुख राजेन्द्र खतिवडाले वीरगञ्जको योजनाको लागि छुट्याइएको रकम अनियमित तरिकाले रौतहटका ठेकेदारलाई भुक्तानी दिएको अरोप वीरगञ्जका ठेकेदारहरुले लगाएका छन् । कार्यालय प्रमुख खतिवडाले सडक तथा नाला निर्माणको भुक्तानी नदिएपछि ठेकेदारहरु आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते दिनभरि कर्यालयको चक्कर काटेका छन् । तर, उनीहरुले भुक्तानी भने पाएका छैनन् ।करिब ७५ करोड २० लाखको बजेटमा वीरगन्जको हरपतगन्ज, अपौनी, लिपनीबिर्ता, पिपरा, श्रीसिया र सुगौली क्षेत्रमा निर्माण भइरहेको २७ किमी लम्बाइको कालोपत्र सडक र नालाको काममा ठेकेदार कम्पनी स्वच्छन्द, पप्पु, युनाइटेड जेभीको करिब ६ करोड ६७ लाख भुक्तानी दिनमा ढिलाइ भइरहेको निर्माण व्यवसायीहरूले बताएका छन् । भुक्तानीका लागि सबै प्रक्रिया पूरा गरे तापनि शहरी तथा भवन कार्यालयका हाकिम राजेन्द्र खतिवडाको कमिशन मोहका कारण भुक्तानी नपाएको र मर्कामा परेको गुनासो ठेकेदारहरुले गरेका छन् । पप्पुका प्रतिनिधि तथा सघन शहरी योजनाका योजना प्रबन्धक उमेश साहले गत असार २४ गते भुक्तानीका लागि सबै प्रक्रिया पूरा गरेर कार्यालयमा दर्ता गराइदिँदा समेत हालसम्म भुक्तानी नभएको आरोप लगाए । पप्पुका प्रतिनिधिहरुले गौरमा आश्रय निर्माण सेवाबाट ५० लाख रुपैयाँ अनधिकृत रकम बुझेर कार्यालय प्रमुख खतिवडाले सो निर्माण कम्पनीलाई भुक्तानी दिएको आरोप लगाएका छन् ।

भुक्तानीका लागि सबै प्रक्रिया पूरा गरे बिलहरु

तर, यस विषयमा सघन शहरी तथा भवन आयोजना कार्यालय वीरगन्जका प्रमुख राजेन्द्र खतिवडाले आरोपमा कुनै सत्यता नभएको दाबी गरे । ठेकेदार कम्पनीको लापरवाहीले भुक्तानीमा ढिलाइ भएको आरोप उनले लगाए । उनका अनुसार ठेकेदार कम्पनीले समयमा बिल र ल्याब टेस्ट रिपोर्ट नगरेकाले ढिलाइ भएको हो । ठेकेदारले मनोमानी तरिकाले सम्झौताविपरीत काम गरेको भन्दै उनले सबै प्रक्रिया पूरा भएमा साउनको पहिलो हप्ता भुक्तानी दिन सकिने प्रष्ट पारे । रीतपूर्वक काम नगरी भुक्तानी दिन नमिल्ने भएकाले अहिलेसम्म भुक्तानी नभएको प्रतिक्रिया उनले दिए ।

निर्माण भएको कामहरु पर्सा जिल्लामा छुट्याइएको रू. २५ करोड रकममध्ये कार्यालयले यसअघि निर्माण व्यवसायी ठेकेदार कम्पनी स्वच्छन्द, युनाइटेड बिल्डर जेभीलाई रू. १५ करोड ५६ लाख भुक्तानी गरिसकेको र बाँकी रू १० करोड रौतहटको गौरमा आश्रय निर्माण सेवा कम्पनीलाई असार ३० गते भुक्तानी गरेकाले रकमको अभावमा भुक्तानी दिन आनाकानी गरेको बताएका छन् । निर्माण व्यवसायीले पर्सामा विनियोजित बजेटको पैसा रौतहटको ठेकेदारलाई ५ प्रतिशत कमिशनमा दिएर पर्साका ठेकेदारलाई भुक्तानी नगरेको आरोप लगाएका छन्।

५ प्रतिशत कमिशनमा लिएर हामीलाई भुक्तानी नगरेको आरोप लगादै पर्साका ठेकेदारहरु

ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि पेटी कन्ट्रयाक्टर प्रमोद निर्माण सेवा, सोसाइटी नेपाल, ग्ल्यामर नेपाल, श्रेष्ठ कन्स्ट्रक्सन निर्माण सेवा, एमडी निर्माण सेवालगायत कम्पनीहरू मर्कामा परी आज दिनभरि शहरी तथा भवन कार्यालयको चक्कर लगाएका थिए । प्रमोद निर्माण सेवाको रू. १ करोड २५ लाख, सोसाइटी नेपालको डेढ करोड, ग्ल्यामर नेपालको ८० लाख, श्रेष्ठ कन्स्ट्रक्सनको ७० लाख, गौरीशंकरको २० लाख र एमडी निर्माण सेवाको ५० लाख भुक्तानी लिन बाँकी रहेको बताइएको छ ।  २०७७ जेठ ९ सम्म सम्पन्न गर्नुपर्ने वीरगन्ज मनपाको ढल तथा सडकको काम करिब ४० प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ।
Back to top