×

वीरगन्ज ३१ असार । वीरगन्जको रामगढवामा रहेको एसिययन डिष्टिलरी उद्योगमा कार्यरत कर्मचारी र मजदुर आन्दोलित भएका छन । उद्योग व्यवस्थापनले कार्यरत मजदुर र कर्मचारीको संख्या कटौती गरेको भन्दै त्यसैको विरोधमा कर्मचारी मजदुरहरु आन्दोलन गरेका छन । उनीहरुले मङगलबार बिहानदेखि उद्योगको मूलगेटमा तालाबन्दी गर्दै धर्ना दिएर प्रदर्शन गरेका छन् । उद्योगबाट उत्पादित मदिरा बिक्री नभएर उद्योग घाटामा गएको र मजदुरको आर्थिक भार थेग्न नसक्ने भन्दै उद्योगमा कार्यरत २४७ मध्ये ६ जना कर्मचारी र १ सय ९७ जना मजदुरलाई उद्योगबाट हटाइएको सूचना उद्योग व्यवस्थापनले सार्वजनिक गरे पछि त्यसैको विरोधमा कर्मचारी मजदुरहरु आन्दोलन गरेका छन ।

उद्योगले श्रमऐनअनुसारको उचित क्षतिपूर्ति र उपदान सुविधा दिएर मात्रै कर्मचारीलाई विदा गर्ने भने पनि मजदुरले ठूलो रकमको माग राखेपछि उद्योग व्यवस्थापन र कर्मचारी मजदुरबीचको विवाद बढेको हो ।

कर्मचारी र मजदुरले मागेको क्षतिपूर्ति र उपदान सुविधाका विषयमा दुवै पक्षबीच दुई पटक वार्ता पनि भएको थियो । तर वार्तामा कुनै निष्कर्ष निस्किन नसकेपछि कर्मचारी मजदुर मङगलबारदेखि उद्योगको मूलगेटमा धर्नामा बसेका हुन् ।

उद्योगबाट हटाइएका कर्मचारी र मजदुरलाई उद्योगले जति वर्ष काम गरेका छन् त्यति महिनाको तलबभत्ता जोडेर उपदान दिने बताएको छ । तर आन्दोलनरत कर्मचारी मजदुले भने उपदानमा १० लाख रुपैयाँ हरेक मजदुर र कर्मचारीलाई दिनुपर्ने अडान राखेको अखिल नेपाल ट्रेड युनियन इकाइका अध्यक्ष पटेलले बताए ।

उद्योगका महाप्रबन्धक उदयराज विष्टले उद्योगबाट उत्पादित मदिरा बिक्री नभएको र आर्थिक व्ययभार बढ्दै गएपछि उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरलाई उचित क्षतिपूर्ति दिएर विदा गर्ने निर्णय गरेको बताए ।

Back to top