×

वीरगञ्ज ३० असार । वीरगञ्ज आर्दशनगरका व्यापारीहरुले महानगरपालिकाको मेयर विजय सरावगीको एनीहाउ मालकमाउको कारण आदर्शनगर डुबानमा परेको आरोप लगाएका छन् । उनीहरुले डुबानबाट भएको क्षति महानगरपालिकाले ब्यहोर्नुपर्ने मागसमेत राखेका छन् ।

आर्दनगरका खुद्रा व्यापारीहरुले सोमबार पत्रकार सम्मेलन गरी डुबानबाट झण्डै ४ करोड रुपैयाँको क्षति भएको बताए । असार २६ गतेको वर्षापछि आएको बाढीबाट आदर्शनगरमा झण्डै २ सय ५० वटा पसल डुवानमा परेको ब्यापारीहरुले बताएका छन् । साना व्यापारीको समस्यामा वीरगञ्ज उद्योग वाणिज्य संघ पनि गम्भीर नभएको उनीहरुले बताएका छन् ।

बाँके बिहारी इन्टरप्राईजेजका सञ्चालक दिगम्बर सिंहले डुबानबाट पसलमा रहेको कम्युटर, सिसिटिभी क्यामेरा लगायतका समानमा क्षति पुग्दा २५ लाख रुपैयाँको क्षति भएको बताए ।

आइनेट प्रालिले ४० लाखको क्षति भएको दावी गरेको छ भने जेपी इन्टरप्राईजेज लगायत कपडा तथा अन्य पसलमा पनि क्षति पुगेको व्यापारीहरुको दावी छ ।

एशियाली विकास बैंक ९एडिबी०, नेपाल सरकार र वीरगञ्ज महानगरपालिकाको संयुक्त लगानीमा सञ्चालित मझौला एकीकृत शहरी वातावरणीय सुधार आयोजना मार्फत आदर्शनगरमा नालासमेत निर्माण भएको छ ।

वर्षाको समयमा आदर्शनगरको पानी अण्डरग्राउन्ड नालाबाट सिर्सिया नदीमा खसाउने गरिएको छ । तर सिर्सिया नदीमा ठूलो बाढी आउँदा नालाबाट नदी नै आदर्शनगरमा पसेको हो । नालाका कारण नै आदर्शनगर डुवानमा परेको ब्यापारी सुशील खेतानले बताए ।

‘बर्षेनी आदर्शनगर क्षेत्र डुबानमा पर्ने गरेको छ । महानगरपालिका मेयर विजय सरावगीले व्यापारीहरुसँग कर पनि लिने गरेको छ । तर समस्या पर्दा समाधानका लागि कुनै प्रयास गरेको छैन’ उनले भने ‘करोडौं खर्च गरेर एडिबी परियोजनाबाट निर्माण भएको नालाबाट झनै समस्या बढेको छ ।’

आफूहरुलाई समस्या पर्दा वीरगञ्ज महानगरपालिकाले वास्ता नगरेको व्यापारी मनोज शर्माको दुखेसो छ । आफूहरुको समस्या समाधान नगरे महानगरपालिकालाई कर नतिर्ने उनीहरुले चेतावनी दिएका छन् ।

Back to top