×

वीरगंज २७ असार । बारा पर्साका हावाहुरीमा घरबारविहीन बनेका सयौं परिवार अहिले वर्षात्को बेला झनै पीडित बनेका छने । पर्साको उदयपुरघुर्मी, मनियारी, बाराको चैनपुर, परसौनी, फेटा, भलुही, भरवलिया, पुरैनिया, तेलगाई, हर्दियालगायत टोलका सयौं परिवार विगत तीन दिनदेखि परेको वर्षात्को कारण सास्ती खेप्न बाध्य भएका गाउँलेहरूले बताएका छन् ।

नेपाल सरकारको निर्देशन अनुसार नेपाली सेनाले वर्षात् अगावै हुरी पीडितहरूको घर बनाइसक्ने बताए तापनि पहिलो चरणको ४ सय १७ घरको काम पनि सम्पन्न हुन नसकेकोमा गाउँलेहरूले चिन्ता व्यक्त गरेका छन् ।

झन्डै चार महीना बित्न लाग्दा पनि घर नबन्दा प्रचण्ड गर्मी र अहिले झरीको मारमा हुरी पीडित परिवार परेको बारा परवानीपुर गाउँपालिका–४ चैनपुरका वडा अध्यक्ष गजेन्द्र पटेलले जानकारी गराए । उनले सेनाले बनाइरहेको १०७ घरमध्ये जम्मा ४० वटा बनाइसकेको र ३८ वटामा हात हालेको उनले बताए ।

हावाहुरीले नोक्सान पारेको प्रारम्भिक विवरणमा २१५ घरमा पूर्ण क्षति भएको थियो भने २६२ घरमा आशिक क्षति भएको उल्लेख थियो । चैनुरका बासिन्दाले हचुवाको भरमा क्षतिको लगत उठाउदा १२२ घरको विवरण गायब भएको थियो । त्यसैगरी शुरूमा गृह मन्त्रालयले पर्सा–बारामा १४५३ घरमा पूर्ण क्षति भएको विवरण सार्वजनिक गरेकोमा त्यसबाट पनि घटाएर घर निर्माण् काम शुरू गरिएको हो ।

पहिलो चरणका ४ सय १७ घरको निर्माण अन्तिम चरणमा पुगी हस्तान्तरण प्रक्रिया अघि बढेको नेपाली सेनाका मेजर हरि पाण्डेले बताए । पहिलो चरणमा पूर्ण क्षति भएका बाराको १० स्थानमा ३९५ र पर्सामा २२ गरी ४ सय १७ वटा घरको निर्माण गरिने भएको हो । सेनाले दोस्रो चरणको निर्माण कार्य पनि सँगसँै अगाडि बढाएको नेपाली सेनाले जनाएको छ ।प्रभावितहरूको घर पुनर्निर्माणका लागि रक्षा मन्त्रालयले बारामा २ हजार ९ सय ४७ र पर्सामा ५३ जना सैनिक खटेका छन ।

पुनर्निर्माणका लागि चैत्र २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले जनता आवास कार्यक्रमको मोडलभित्र रहेर हावाहुरी प्रभावितका लागि घर बनाइदिने निर्णय गरेको थियो । सो निर्णय अनुसार घर निर्माणका लागि जग्गाको क्षेत्रफल ३४८.६० वर्ग्फिट हुनुपर्ने र ५ लाख ४५ हजार ९ सय ८५ रुपियाँमा एउटा घर निर्माण गरिने बताए ।

प्रारम्भिक तथ्याङ्क सङ्कलनमा बारामा १३ सय ६२ र पर्सामा ९४ घर रहेको भएपनि पुन तथ्याङ्क सङ्कलन गर्दा पूर्ण क्षति भएका घरको सङ्ख्या घटेर बारामा ८ सय ४६ र पर्सामा ६२ रहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

Back to top