ठोरीमा बज्ने भो अब नौमती बाजा, पर्साकै नमुना संस्कृति बन्न सक्ने

101

हेम चापागाइ,वीरगन्ज २६ असार । ठोरी गाउँपालिकाको दलित समुदाय लाई नेपालकै साँस्कृतिक पहिचान बोकेको नौमती बाजा सहित पेशा सुधारका सामाग्रीहरु आज वितरण गरिएको छ ।

ठोरी गाउँपालिकाको आर्थिक सहयोग तथा दलित विकास केन्द्र ठोरीको आयोजनामा ठोरी गाउँपालिका वडा नं. ४ को कार्यलयमा एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । “दलित पेशा सुधार” नामक ठोरी गाउँपालिकाको कार्यक्रम अन्तरगत ठोरी भित्र रहेका दलित समुदायका प्रतिनिधिहरु लाई संयुक्त रुपमाएक थान नौमती बाजा, दलित समुदायका हतियार निर्माण गर्ने परिवारका प्रतिनिधिहरुलाई २५ वडा ग्यालेण्डर मेसिन (हतियारमा धार लागाउने विद्युतीय मेशिन) तथा सिलाई कटाईका काम गर्ने ५० जनालाई कपडा काट्ने कैंची वितरण गरिएको हो ।



सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि तथा ठोरी गाउँपालिकाका प्रमुख पदमलाल श्रेष्ठ तथा वडा नं. ४ का वडाध्यक्ष बही बहादुर पाख्रिनले आज उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै ठोरी गाउँपालिकाका प्रमुख पी एल श्रेष्ठले दलित समुदायले परम्परागत रुपमा गर्दै आईरहेको पेशाहरु लाई आधुनिक तवरबाट अगाडी बढाउने र ठोरी गाउँपालिकालाई नौमती बाजा सहितको साँस्कृतिक क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले उक्त सामाग्रीहरु वितरण गरिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो “ ठोरी गाउँपालिकामा दलित समुदाय ठुलो छ, यसलाई अव साँस्कृतिक पहिचान भएको, आत्मनिर्भर र ठोरी गाउँपालिकाकै गहनाको रुपमा चिनाउनु पर्छ ।

तपाईहरु अघि बढ्नुहोस, साथमा गाउँपालिका छ ।” अहिलेको लागि गाउँपालिकाले वितरण गरेका सामाग्रीहरु केही कम भएपनि यी सााग्रीहरुको उपलब्धी हेरेर आगामी दिनमा अझै थप गर्दै लैजाने पनि अध्यक्ष श्रेष्ठको भनाई रहेको थियो ।

कार्यक्रममा आफ्नो विचार राख्दै वडाध्यक्ष बही बहादुर पाख्रिनले दलित समुदायको संस्कृति दलितको मात्र नभई नेपालकै पहिचान भएकोले यसको जगेर्ना गर्न सबै समुदाय लागि पर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै वडा नं. ४ की महिला सदस्य कान्छीमाया पाख्रिनले गाउँपालिकाको यो कार्य दलित समुदायलाई आधुनिक रुपमा आत्मनिर्भर बनाउन अघि सारिएको बताउनु भयो ।
दलित विकास केन्द्र ठोरीका अध्यक्ष गगन सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ, बिशिष्ट अतिथि वडा नं. ४ का वडाध्यक्ष बही बहादुर पाख्रिन, अतिथिहरुमा वडा नं. ४ की महिला सदस्य कान्छीमाया पाख्रिन, दलित अगुवा बिष्णुमाया वि.क. लगायत रहनु भएको थियो ।

दलित विकास केन्द्र ठोरीका सचिव वीर बहादुर गन्धर्वले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन शिक्षक अरुण वि.क. ले गर्नु भएको थियो । उक्त कार्यक्रममा नौमती बाजा मध्येकै नर्सिङ्गा बजाई उपस्थित अतिथिहरुको स्वागत समेत गरिएको थियो ।