ठगी गर्ने वीरगञ्ज माईस्थानका जय माँ अम्बे इन्टरप्राइजेज सहित छ फर्मलाई कारवाही

2130
फाईल फोटो

वीरगञ्ज, १३ असार । वाणिज्य कार्यालय पर्साले उपभोक्तालाई ठगी गर्ने, एमआरपी नराख्ने तथा बिल नदिनेजस्ता गैरकानूनी क्रियाकलाप गरी उपभोक्ता ठग्ने वीरगञ्जका छ व्यापारिक फर्मलाई जरिवाना गरी कारवाही गरेको छ ।

कारवाहीमा परी जरिवाना तिरेका फर्ममा वीरगञ्जकै माईस्थानस्थित जय माँ अम्बे इन्टरप्राइजेजलाई बिल नराखेको, उपभोक्तालाई बिल नदिई ठगी गरेकाले रु २० हजार जरिवाना गरी कारवाही गरिएको छ । वीरगञ्ज महानगरपालिका  १८ को नारायणी धूप उद्योग रहेको छ ।



सो उद्योगलाई उत्पादन गर्ने अगरबत्तीमा उत्पादन मिति नराखेको तथा एमआरपी नराखेको कारण रु ५० हजार जरिवाना गरिएको छ । यसैगरी वीरगञ्जकै नारायणी इन्टरप्राइजेजले उपभोक्तालाई ठग्दै आएको सूचना प्राप्त भएपछि अनुगमनकार्यमा असहयोग गरेकाले रु १० हजार जरिवाना गरिएको सूचना अधिकारी दिलीपखंग खत्वेले राससलाई बताउनुभयो ।

यसैगरी कारवाहीमा परी जरिवाना तिरेका अन्य फर्ममध्ये हिमाल केमिकल एण्ड परफ्युमरी उद्योगलाई पनि अगरबत्तीमा एमआरपी नराखी उत्पादन गरेकाले रु ५० हजार जरिवाना गरी कारवाही गरिएको छ । वीरगञ्जकै माईस्थानमा रहेको गणेश किराना स्टोरलाई उपभोक्ताले बिल माग्दा नदिएकाले रु १० हजार जरिवाना गरिएको छ ।

यसैगरी बहुदरमाई नगरपालिकाको रामनगरी बजारमा रहेको निरञ्जन कोल्ड स्टोरलाई बिल नराखेकाले रु पाँच हजार जरिवाना गरी कारवाही गरिएको ।

वाणिज्य कार्यालयले प्रदेश नं २ को आठ जिल्ला र प्रदेश नं ३ को चितवन र मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाई काम गर्दै आएको छ । कार्यालयले उपभोक्ता संरक्षण ऐन, २०५४ र उपभोक्ता संरक्षण नियमावली २०५६ अनुसार कारवाही गरी जरिवाना गरेको निमित प्रमुख ओमनारायण शर्मा ढुङ्गानाले बताउनुभयो । व्यापारीले फर्म दर्ता गर्न तथा नवीकरण गर्न जाँदा तोकिएको सरकारी दस्तुरभन्दा बढी रकम असुल्ने गरेको व्यापारीको गुनासो छ ।