×

वीरगंज १० असार । वीरगंज महानगरपालिका बजार विस्तार, दिनहु लाग्ने जामबाट छुट्कारा र फराकिलो सडक हर्ने वीरगंजवासीको सपना तुहाउन केहि राजनीतिक दल र व्यापारी लागिपरेका छन् ।

सडक डिभिजन कार्यालय हेटौडाले वीरगंज महानगरपालिकाको भन्सार देखि हेटौडा सम्मको मुख्य सडकलाई दायाँ र बायाँ तर्फ २५/२५ मिटर भत्काउने सूचना प्रकाशित गरेपछि वीरगंजवासीको मिस्रित प्रतिक्रिया आएको छ । केहिले वीरगंजको सडक २५/२५ नै भत्काउनु पर्ने धारणा राख्दै आएपनि नेपाली कांग्रेस, समाजवादी पार्टी र केहि व्यापारी घरानाका व्यक्तिहरुले भने सडकलाई १५/१५ मिटर मात्र भत्काउने माग गरेका छन् ।

नेपाली कांग्रेस पर्साले शोमबार वीरगंजमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सडक विस्तार २५ मिटरबाट घटाएर १५ मिटरमा झार्ने माग गरेको छ । पुर्व मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले पत्रकार सम्मेलनमा बोल्दै वीरगंजको सडक २५ मिटर भत्काउने कुनै आवश्यकता नरहेको बताए । उनले सडक विस्तार गर्दा भत्किने संरचनाका धनिहरुलाई मुआवजा समेत दिनु पर्ने माग गरेका छन् ।

त्यसैगरी सत्ता साझेदार दल समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य प्रदीप यादवले महानगरपालिकाको सडक भत्काउने निर्णयको विरोध गर्दै अब सडक विस्तारको कुनै औचित्य नरहेको बताएका छन् । समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत रहेका यादवले शोमबार वीरगंज महानगरपालिकाको पाँचौं साधारण सभामा बोल्दै सडक विस्तारको कार्य २५ मिटर नगरेर १५ मिटरमा सिमित राख्न माग गरे ।

यादवले २०२२ सालको नापनक्शा अनुसार व्यक्तिविशेषको जग्गाको मुआवजा तिरेर वीरगंज महानगरपालिका कार्यालयले गरेको १५–१५ मिटर सडक फराकिलो गर्ने निर्णय कार्यान्वयन हुनुपर्ने बताए । उनले सडक विभागले विनाबजेट सूचना जारी गरेकोमा आपत्ति समेत व्यक्त गरे । सांसद यादवले वीरगंजको विकल्पमा आइसिपी र बाइपास सडक निर्माण भइसकेकोले मेनरोड तोडेर खण्डहर बनाउनुको औचित्य नरहेको तर्क गरेका छन् ।

यतातिरा सत्तापक्ष नेकपा पर्साका अध्यक्ष प्रभु हजराले भने मुख्य सडक २५ मिटर नै फराकिलो गर्नुपर्ने बताएका छन् । उनले सडक विभागले जारी गरेको सूचना अनुसार सडक फराकिलो हुने दाबी समेत गरे । हजराले भदौसम्म घण्टाघर क्षेत्र र छठपछि मितेरीपुलसम्म २५ मिटर सडक अतिक्रमण हटाइने बताए । उनले योजनाको सफलताको लागि सरकारले तीन अर्ब थप बजेट समेत विनियोजन गरिसकेको जानकारी गराएका छन् ।

त्यस्तै राजपाका महासचिव शिव पटेलले भने सडक दुवैतर्फ २५/२५ मिटर बनाउनुको विकल्प नरहेको बताएका छन् । उनले वीरगंजको विकासमा नेपाली कांग्रेस शुरूदेखि बाधक भएको आरोप लगाउदै सडक विस्तार कार्यमा कुनै बाधा नपुर्याउन सबै राजनीतिक दल संग अनुरोध समेत गरे । पटेलले नेपाली कांग्रेस कै बाधा व्यवधानको कारण वीरगंज मेनरोड फराकिलो हुन नसकेको र सूचना प्रकाशित गरेर रकम तानतुन गर्ने शुरूदेखि नै चलखेल भइरहेको आरोप लगाए । वीरगंजको विकासको लागि २५ मिटर सडक विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

राजपाका अर्का सहमहासचिव नेजामुद्दीन समानीले पनि वीरगंज सडक फराकिलो हुनुपर्ने र त्यसको लागि सडक विभागले जारी गरेको सूचना अनुसार अतिक्रमण हटाउनुपर्ने बताएका छन् । उनले सडक फराकिलो गर्नुको विकल्प नभएको बताएका छन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले सडक फराकिलो गर्नुपर्ने तर १५ मिटरभन्दा बढी नगर्न आग्रह गरे । उनले भारत सरकारले मानव बस्ती भनेर रक्सौल बजारलाई जोगाई तीन किलोमिटर पूर्व आइसिपी सडक निर्माण गरेको तर्क गर्दै वीरगंजको सन्दर्भमा पनि आइसिपी, बाइपास तथा इनरबाइपास विकल्पको रूपमा रहेकोले वीरगंज शहरको भौतिक संरचना जोगाउन आग्रह गरे ।

केडियाले मेनरोड तोड्ने हल्लासँगै बजारमा आतङ्कको अवस्था सिर्जना भएको बताएका छन् । किरायादारले किराया नदिने, थोक बिक्रेताले सामान नदिने, खुद्रा बिक्रेताले भुक्तानी नदिने जस्ता कुराले मेनरोडमा तनाव सिर्जना भएको बताए ।

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले कुनैपनि हालतमा मेनरोड २५ मिटर तोडिने कुराको नेपाली कांग्रेस समर्थक नहुने बताए । उनले मानव वस्ती रहेको क्षेत्रमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । उनले नेपाली कांग्रेस बाटो फराकिलो गर्ने कुराको विरोधी नभएको र १५ मिटर त्यो पनि कानूनीरूपमा मुआब्जा तिरेर सडक फराकिलो गर्नुपर्ने बताए ।

Back to top