महानरगमा झुट र भ्रष्टाचारको खेती मौलायो-रहबर अन्सारी

513

रहबर अन्सारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता हुन् । उनी तेस्रो चरणको स्थानीय निर्वाचनमा वीरगन्ज महानगरमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरका प्रत्याशी थिए । 
युरोपबाट पब्लिक पोलिसीमा स्नातकोत्तर गरेर राजनीतिमा आएका अन्सारीले ‘पढे–लेखेकाले राजनीतिमा रुचि राख्दैनन्’ भन्नेका लागि व्यवहारबाटै जवाफ दिएका छन् । 
विषयवस्तुलाई प्रस्ट राख्न सक्ने उनी पढे–लेखेका युवा निर्णायक तहमा आउनुपर्ने धारणा राख्छन् । अनुभवहीन र अध्ययनको कमी भएकाहरु पार्टीभित्र हावी भए पनि अब विस्तारै युवा हस्तक्षेपकारी भूमिकामा आउने उनको भनाइ छ । 

उनी परिवर्तन नयाँ सोच र नयाँ पुस्ताबाट मात्रै सम्भव हुने मान्यता राख्छन् । युवा र पढे–लेखेका मानिस राजनीतिमा स्थापित हुन दलका नेताको परम्परागत सोचाइ र प्रवृत्ति बाधक भएको तर्क गर्छन् । 
‘राजनीतिमा लाग्नु भनेको धन कमाउनु, भ्रष्टाचार गर्नु र सत्ता–शक्ति आर्जन गर्नु हो’ भन्ने मान्यतालाई परास्त गर्दै सदैव देश विकासमा लाग्ने रहबरको अठोट छ । 
शिलापत्रको पाक्षिक स्तम्भ ‘प्रत्याशीको नजरमा कार्यकारी’मा यसपटक हामीले उनै अन्सारीलाई प्रस्तुत गरेका छौं । प्रस्तुत छ, वीरगन्ज महानगरका मेयर विजय सरावगीबारे तत्कालीन नेकपा माओवादीका तर्फबाट मेयरका प्रत्याशी बनेका अन्सारीले गरेको टिप्पणीः



दुई वर्षमा वीरगन्ज
निर्वाचनमा म तत्कालीन नेकपा माओवादीको तर्फबाट प्रत्याशी थिएँ । मतपरिणाम मेरो पक्षमा आएन । अर्कै उम्मेदवार विजयी हुनुभयो । निर्वाचनको च्याप्टर सकिएपछि म एक आममानिस, एउटा पार्टीको कार्यकर्ता मात्र भएँ । यसकारण, अहिलेको मेयर मेरो पनि मेयर हुन् त्यसैले मैलै मेयरको भूमिकालाई हेर्दा एक सचेत वीरगन्जवासीका नाताले हेर्नुपर्ने हुन्छ । यसमा कुनै राजनीतिक पूर्वाग्रह वा आग्रह राख्नुपर्ने कारण छैन । तत्कालीन मेरा प्रत्याश्ी वा अहिलेका मेयरले निर्वाचनताका गरेका प्रतिब्द्धता जसलाई उहाँले ‘कसम’ भनेर सार्वजनिक गर्नुभएको थियो । त्यो कसमअन्तर्गतका केही पनि काम भएको जस्तो लाग्दैन । यो मेरो मात्र नभएर सबै वीरगन्जवासीको अनुभव हो ।
दुई वर्षको समय छोटो समय होइन । कम्तीमा पनि फाउन्डेसन तयार पारेर काम हुँदै छ भन्ने संकेत मेयरले दिन सक्नुपथ्र्यो । वीरगन्ज महानगरका ३२ वडामा सबैतिरको अवस्था निर्वाचनपूर्व जस्तो थियो, अहिले पनि उस्तै हो । वीरगन्जले महानगरको रूप नै लिन सकेन ।

सुशासनको कसीमा मेयर
मेयर विजय सरावगीलाई हामीले पटक–पटक आफ्ना प्रतिबद्धतामा सचेत रहन हामीले सार्वजनिक रुपमा आग्रह गरिरहेका छौं । विजयजीले विगत ५० वर्षमा नभएको विकास पाँच वर्षमा गरेर देखाउँछु भन्नुभएको थियो तर त्यसको ठीक उल्टो काम गर्नुभएको छ । महानगरमा अहिले चरम भ्रष्टाचार बढेको छ । आमजनताले सेवा लिन जाँदा समेत खुलेआम कमिसन मागेको गुनासो आइरहेको छ । खुलेआम भ्रष्टाचार भएको छ ।

मेयरको समस्या
विजयजी आफ्नै पार्टीबाट पनि सहयोग नभएको गुनासो गर्दै हुनुहुन्छ । तर, एउटा मेयर कुनै पार्टीको मात्र मेयर हुँदैन । उहाँ जनप्रतिनिधि हो । मेयरलाई महानगरका पिता मानिन्छ । त्यो ठाउँमा पुगिसकेपछि आमजनता र प्रतिपक्षको समेत प्रतिनिधित्व गर्दै आफ्नो दललाई विश्वासमा लिनुपर्छ । नेतृत्वमा रहेको व्यक्तिले राजनीतिक, प्रशासनिक क्षमता र दूरदर्शिता राख्न सक्नुपर्छ । जुन कुरा अहिले मेयर सरवागीसँग देखिँदैन ।
विजयीजी व्यावसायिक क्षेत्रबाट आएको र सामाजिक क्षेत्रमा समेत व्यक्तित्व निर्माण गरेको हुँदा राजनीतिक नेताभन्दा काम गर्ने क्षमता बढी राख्नुहुन्छ भन्ने अपेक्षा थियो तर उहाँ आफ्नो भूमिकामा खरो उत्रन सक्नुभएन ।
व्यावसायिक र सामाजिक क्षेत्रको नेतृत्व भन्दा राजनीतिक नेतृत्व नितान्त भिन्न हो भन्ने कुरा सायद उहाँले बुझ्नुभयो होला । राजनीतिक सन्तुलन गर्न उहाँ असफल हुनुभएको छ । साथै निर्वाचन जसरी पनि जित्ने भन्दै पूरा गर्न नसकिने प्रतिबद्धता पनि उहाँले गर्नुभयो ।

स्थानीय सरकारप्रति वीरगन्जवासीको धारणा
निर्वाचनमा क्रममा स्थानीय सरकारलाई गाउँगाउँमा पुर्याउने माध्यम भनियो । वीरगन्ज महानगरदेखि प्रदेशसम्मै विजयजीकै पार्टीको सरकार छ । केन्द्रमा समेत उहाँको पार्टीको सहभागिता छ ।
यस्तो बेला पनि मेयरले काम गर्न नसक्ने हो भने भने कहिले गर्लान् ? यो प्रश्न यतिखेर वीरगन्जवासीको साझा सरोकार हो । काम गर्ने मनसाय नै देखिएन । लोकतन्त्रमा क्रस पार्टी इन्टर्याक्सनले धेरै महत्त्व राख्छ ।
केही सुझाव हाम्रो पनि होला । राम्रो वीरगन्ज बनाउन हामी पनि सहयोग गर्न तयार छौं । तर, अहिलेसम्म पनि उहाँले जिल्लामा प्रमुख दलको राजनीतिमा क्रियाशील व्यक्तिसमेतको कुरा सुन्नुभएको छैन ।
उहाँले सार्वजनिक रुपमा मलाई सबै कुरा पुगेको छ, म पैसा कमाउन राजनीति गर्न आएको होइन । म वीरगन्ज बनाएरै छाड्छु भन्नुहुन्थ्यो । तर, भर्खरै मात्रै उहाँले आफ्ना लागि २ करोडको गाडी किन्नुभएको छ । जनताको सेवक हुँ भन्ने मेयरले सरकारी सम्पत्ति दोहन गर्दै यत्रो सुविधा लिन मिन्छ ?

युवा र रोजगार
मेयरले २० हजार रोजगार सिर्जना गर्छु भन्नुभएको थियो । वीरगन्ज महानगरमा बेरोजगारीको समस्या धेरै ठूलो छ । बिदेसिएका युवालाई देशमै रोजगारी सिर्जना गरेर स्वदेश फर्काउँछु भन्नुभयो । तर, विदेशको कुरा छोडौं, यही भएका युवासमेत रोजगारी नपाएर भड्किरहेका छन् ।
युवा परिचालनमार्फत वीरगन्जको विकासका लागि थुप्रै काम गर्न सकिन्छ । आजको बेरोजगार युवाले रोजगारी मात्र खोजेको छैन । समाज र राष्ट्र निर्माणका लागि योगदान दिन पनि तयार भएको छ तर यत्रो शक्तिलाई आह्वान गर्ने कसले ? स्थानीय सरकारबाट युवा परिचालन समन्वय गर्न सक्दा अरुलाई पनि शिक्षा हुन सक्थ्यो । युवाको शक्तिलाई पहिचान गर्न नसक्नु पनि मेयरको अर्को कमजोरी हो ।

के गर्नुपर्ने हो ?
सबैभन्दा पहिले वीरगन्जको सफाइको आवश्यकता छ । नाला तथा सडकको सफाइ गर्ने हो भने स्वच्छ वीरगन्ज बन्न सक्छ । ठूलो योजनाभन्दा पनि सानातिना काम गर्दा पनि वीरगन्जको अनुहार फेरिन्छ । यत्रो ठूलो औद्योगिक क्षेत्र रहेको यो नगरमा क्षमतावान् जनशक्तिको आवश्यकता छ ।
उद्योगलाई व्यावसायिक रुप दिन राम्रो जनशक्ति आवश्यक पर्छ । त्यो जनशक्ति यही वीरगन्जमा छ तर यसको परिचालन हुन सकेको छैन । यसले केही हदसम्म रोजगारीको समस्या पनि समाधान गर्ने थियो । उद्योगी व्यवसायीलाई लगानीको वातावरण तय गर्दै यसलाई औद्योगिकीकरण गर्न महानगरले पहल गर्नुपर्छ । तर, महानगरले प्रशासनिक भूमिका निर्वाह गर्नै सकेन । वीरगन्जमा रहेका ऐलानी जग्गा भूमाफियामार्फत निजीकरण भइरहेको छ तर महानगर देखेको नदेख्यै गरिरहेको छ । खोइ महानगरका पिताको प्रशासनिक क्षमता ?

आन्दोलनको केन्द्र वीरगन्जले के पायो ?
आन्दोलनको केन्द्रबिन्दु मानिएको वीरगन्जले निर्वाचन पछि गति लिने धेरैले आशा गरेका थिए । वीरगन्जको विकास केवल वीरगन्जका लागि मात्रै होइन, सिंगो देशको आर्थिक विकाससँग सम्बन्धित छ ।
आफंैमा औद्योगिक क्षेत्र त्यसमा पनि छिमेकी देशसँगको मुख्य नाका पनि भएकाले यसको महत्त्व धेरै नै छ । आयात र निर्यातको प्रमुख नाका राजनीतिक, प्रशासनिक तथा सामाजिक हिसाबले व्यवस्थित हुनेमा वीरगन्जवासी त ढुक्क थिए नै । देशवासीले पनि सायद यही अस गरेको हुनुपर्छ । तर, तीन–तीन तहमा सरकार बनेको र त्यसमा पनि मधसकेन्द्रित दलले स्थानीय र प्रदेशमा सरकारको नेतृत्व गरिरहँदा वीरगन्जवासीले मधेसी दलसँग आशा मारेका छन् । जनताले आफूहरु धोकामा परेको महसुस गरेका छन् ।

म मेयर भएको भए
यो असान्दर्भिक भइसक्यो । यद्यपि, म निर्वाचित भएको भए महानगरको मेयर पदले पाएका अधिकारको प्रयोग मात्रै गर्थें । किनभने मेयरले पाएको अधिकार प्रयोग गर्ने बित्तिकै धेरै काम भइसक्छ । यहाँ त मेयरले आफू मेयर हुँ भन्ने पनि थाहा पाएनन् । मेयरको अधिकार के हो ? यो स्थानीय तहको सरकारको औचित्य के हो भन्ने मेसै पाएनन् । पाएको अधिकार नै प्रयोग गर्न नजानेपछि विकास भएन भनेर हुन्छ र ? shilapatra.com बाट