प्रमुखको चर्तिकला देखाउने तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि युवा माथि गाउँपालिकाद्वारा मुद्दा

477

जितपुर असार ९ – विद्युतको पोलको बीचमै नाला निर्माणको शिलान्यास गरेको तस्वीर सामाजिक सञ्जालमा राखेको भन्दै प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले स्थानिय एक युवकविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

नालाको बीच भागमै रहेको विद्युतको पोल अगाडी बसेर नाला योजनाको शिलान्यास गरेको तस्वीर र निर्माण सम्पन्न भएपछिको तस्वीर सामाजिक सञ्जालमा राखेको भन्दै अध्यक्ष गुप्ताले ईलाका प्रहरी कार्यालय गण्डकमा उजुरी दिएका हुन् ।



अध्यक्ष गुप्ताले स्थानिय युवा विनय गुप्तालाई विद्युतिय ऐन अन्तर्गत कारवाही गर्न जाहेरीमार्फत माग गरेका छन् । गाउँपालिकाको लेटरप्याड प्रयोग गरेर प्रहरीलाई निवेदन लेख्दै गुप्ताले सामाजिक सञ्जालबाट आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

यद्यपी अध्यक्ष गुप्ताको उक्त तस्वीर यतिबेला देशभर भाईरल भइसकेको छ । लाखौंको लागतमा निर्माण हुने योजना सुरुवात गर्ने क्रममा सामान्य ध्यान समेत नदिई शिलान्यास गर्न बसेका अध्यक्ष गुप्ता चौतर्फी आलोचनाको शिकार बनेका छन् ।

गाउँपालिकाको अध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिले नालानै थुनिने गरी बीचमै रहेको विद्युतको पोलको अगाडी बसेर योजना शिलान्यास गर्नु निकै दुर्भाग्यपूर्ण रहेको भन्दै सामाजिक सञ्जालमा चर्चा भईरहेको छ । उक्त तस्वीरले गाउँपालिकाको ईन्जिनियरको काम गर्ने शैली माथीनै प्रश्न उठाएको छ ।

गाउँपालिकाको जनप्रतिनिधि र प्राविधिकको लापरवाही तस्वीरले प्रष्ट झल्काउने स्थानियको तर्क छ । योजनामा देखिएको गम्भिर त्रुटीलाई सच्याउनु पर्ने अध्यक्षले आफैले विद्युतको पोलको अगाडीनै बसेर योजना शिलान्यास गर्नु र अहिले सामाजिक सञ्जालमा तस्वीर भाईरल भएपछि बदनाम भएको भन्दै प्रहरीलाई गुहार्नु हास्यास्पद देखिन्छ ।

ईलाका प्रहरी कार्यालय गण्डकका प्रहरी निरिक्षक मोहनमान श्रेष्ठले गाउँपालिकाबाट जाहेरी आएको र त्यस बिषयमा छलफल गर्ने प्रयास भईरहेको बताए । सामाजिक सञ्जालमा बदनाम गर्न खोजेको भन्दै कारवाहीको माग गरेर गाउँपालिकाबाट पत्र आएको छ, प्रहरी निरिक्षक श्रेष्ठले भने । उनले हामी यसलाई छलफलबाट टुंग्याउन खोजिरहेका छौ ।