×

वीरगन्ज ५ असार । कानुनको रक्षक नै भक्षक भए त्यसको पालना कस्ले गर्ने ? सर्वसाधारणलाई निती नियमकोे पाठ सिकाउने जनप्रतिनिधि आफै त्यसको उलघंन गर्न कुनै कसुर बाँकी राख्दैनन् भने त्यस्ता जनप्रतिनिधिवाट समाजले के पाठ सिक्ने ?

सार्वजनिक जग्गाको संरक्षण गर्ने कानुनी अधिकार पाएका जनप्रतिनिधि आफै श्रीमती, छोरा, बुहारी, भाई, भतिजाको नाममा जग्गाको लगत कायम गर्न पदको दुरुपयोग गर्ने र ति जग्गाको भोगचलन समेत आफै गर्छन् भने तिनको काम कारबाहिमा अंकुश कस्ले लगाउने ? जितपुरसिमरा उप महानगरपालिका वडा नं २० का वडाध्यक्ष रसुलमिया अन्सारी यसको ज्वलन्त उदाहरण हुन् ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार जनप्रतिनिधिलाई दिएको छ । तर वडाध्यक्ष अन्सारी आफै श्रीमती, छोरा, बुहारी, बहिनी लगायत आ –आफन्तको नाममा सार्वजनिक जग्गा को श्रेस्ता कायम गरी चलनचल्तीमा ल्याउन दौडधुपमा लागेका छन् ।

वडाध्यक्ष अन्सारीले फिल्डबुकमा ऐलानी , पर्ती र बुट्यान भनि उल्लेख भएका आफ्नो वडाभित्रको सार्वजनिक जग्गा आफ्ना आफन्तको नाममा श्रेस्ता कायम गरी चलनचल्तीमा ल्याउन आफैले हस्ताक्षर गरेर मालपोत कार्यालय सिमरालाई सिफारिस पत्र पठाएका मात्र छैनन् वर्षैदेखि ति जग्गाहरु भोगचलन समेत गर्दै आएका छन् ।

वडाध्यक्ष अन्सारीले जितपुरसिमरा उप महानगरपालिका वडा नं २० को १८ ओटा कित्ताको १४ बिगाहा १० कठ्ठा मध्ये ९ बिगाहा १० कठ्ठा ४ धुर सार्वजनिक जग्गा श्रीमती सपातुन नेसा, छोरा समसुलह अन्सारी, बहिनी मुस्तकिमा खातुन, जेठा दाईको श्रीमती सहीदन अन्सारी ,बुहारी सोनायदा खातुन र माईलो दाई मैनवा अन्सारीकको नाममा कायम गरी चलनचल्तीमा ल्याउन मालपोत कार्यलय सिमरा दौडधुप गरिहेका छन् ।

अन्सारीले २०६७ सालको सुकुम्बासी आयोगवाट ति जग्गाको पुर्जा समेत बनाइसकेका छन् भने जग्गाको कित्ताकाट गरी बेचबिखनका लागि मालपोतवाट चलनचल्तीको पुर्जा बनाउन आफैले हस्ताक्षर गरेर सिफारिस पत्र पठाएका छन् ।

अन्सारी वडा नं २० का जमिनदार हुन् । जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं २० इनर्वासिरामा उनको घर जग्गा जमिन छ भने जितपुर बजार रहेको अर्को घरमा हाल उनि बस्दै आएका छन् ।

उनले २०६७ मा आयोगवाट आफु सुकुम्बासी भएको झुटो कागजपत्र पेश गरेर ९ बिगाहा १० कट्ठा ४ धुर जग्गाको पुर्जा बनाएका हुन् । सुकुम्बासी आयोगले प्रतिपरिवार अधिकतम् डेढ बिगाहा भन्दा बढि जग्गाको पुर्जा वितरण गर्न मिल्दैन तर वडाध्यक्ष अन्सारीले परिवारको सबै सदस्यहरुको नाममा छुट्छुटै पुर्जा बनाएर ति जग्गा भोगचलन समेत गर्दै आएका छन् ।

सुकुम्बासी आयोग निर्देशिका तथा जग्गा व्यवस्थापन निर्देशिकले आयोगले तत्कालिन समयमा वितरण गरेका पुर्जाहरु पुर्जाधनीले बसोबास तथा कृषिजन्य उत्पादनका लागि भोगचलन गर्न पाउने तर, सो जग्गाको कित्ताकाट गरेर किनेवेच गर्न १० वर्ष कुनुपर्ने कानुनी व्यवस्था उल्लेख गरेको छ ।

वडाध्यक्ष अन्सारीले सोही कानुनी व्यवस्थालाई टेकेर २०६७ सालमा पाएको जग्गाको पुर्जालाई चलनचल्तीमा ल्याउन तथा कित्ताकाट गरेर जग्गा वेचबिखन गर्नका लागि मालपोत कार्यालय सिमरामा दौडधुप गरेको मालापोत कार्यालय सिमरा श्रोतले जनाएको छ ।

‘अरु कुरामा भोगचलन गर्न पाईए पनि तत्काल कित्ताकाट गरेर जग्गा किनवेच गर्न नपाईने भएकोले त्यसको लागि उहाँ (वडाध्यक्ष अन्सारी) मालपोत धाईरहनुभएको थियो तर गुप्ता सर कारबाहिमा परेकोले उहाँको काम रोकिएको हो’ सिमरा मालपोत कार्यालयका एक अधिकारीले भने ।

२०६७ सालमा सुकुम्बासी आयोगले बारा जिल्लामा वितरण गरेका सार्वजनिक, पर्ती, ऐलानी जग्गाका पुर्जाहरु जमिनदारको हातमा पनि पुगेको थियो । ‘ईनर्वासिरामा बिगौ बिगाहा सार्वजनिक, पर्ती , ऐलानी जग्गाको पुर्जाहरु जमिनदारको हातमा पुगेकोले हामीले त्यहाको जग्गाको पुर्जाहरु कारोबारका लागि चलनचल्तीमा ल्याएको छैन्’ सिमरा मालपोत कार्यालय श्रोतले भन्यो ।

तत्कालिन सुकुम्बासी आयोग बारा जिल्ला अध्यक्ष नारायण क्षेत्रिले बारा जिल्लाका विभिन्न ठाँउका सार्वजनिक , ऐलानी प्रति जग्गाहरु पैसा लिएर जमिनदारका नाममा पुर्जा वितरण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर सबै कागजपत्र जफत गर्नुका साथै क्षेत्रिलाई पदवाट बर्खास्त गरेको थियो । उनै क्षेत्रि हाल चर्को आलोचना र विवादका विच लामो समयदेखि सानाकिसान कृषि सहकारी संस्था लि. डुमरवानाका मुख्य प्रवन्धक छन् ।

सुकुम्बासी आयोगका अध्यक्ष क्षेत्रिले काुननी प्रक्रिया मिचेर वडाध्यक्ष अन्सारीको श्रीमती, छोरा, बुहारी जेठो दाईकी श्रीमती, माईलो दाईको नाममा ९ बिगाहा १० पुर्जा ४ धुर जग्गाको पुर्जा प्रदान गरेका थिए ।

जितपुरसिमरा उपमहानगरपाकिला वडा नं २० का वडाध्यक्ष रसुलमिया अन्सारीले भने आफुले भोगचलन गर्दै आएको जग्गा ऐलानी, पर्ती, बुट्यान नभएर गुठीको भएको दावी गर्दै गुठी संस्थालाई मुआब्जा बुझाईरहेको बताए । ‘हाम्रो अनधिकृत कुनै पनि जग्गा छैन् , लालपुर्जा बनोस् वा नबनोस् हामीले मालपोत गुठीलाई बुझाईरहेका छौ’ वडाध्यक्ष अन्सरीले भने

तत्कालिन अवस्थामा विवादित ढंगले जग्गाका पुर्जा वितरण गरेका नारायण क्षेत्रिले आफुले २०५५ सालमा नासिर मियाँ अध्यक्ष रहेको आयोगले गरेको सर्भेका आधारमा आफुहरुले पुर्जा वितरण दावी गरेका छन् ।

वडाध्यक्ष अन्सारीले नेपाली कांग्रेसको तर्फवाट सुकुम्बासी आयोगका बारा जिल्ला अध्यक्ष रहेका नासिर मियाँको पालामा आफ्नो परिवारको नाममा सो जग्गा कायम गर्न कागजपत्र सबै मिलाईसको र २०६७ सालको अर्को आयोगवाट निर्णय गराएको श्रोतले जनाएको छ ।

‘मिया अध्यक्ष रहेका आयोगलाई त्यो बेलामा सर्भे गरेर जंगल, बुट्यान, पर्ती भनेका जग्गाहरु पनि कित्ताकाट गरेर बसोबासका लागि पुर्जा दिनसक्ने अधिकार थियो, हामीले पनि पुरानो आयोगले गरेको सर्वेलाई आधार मानेर पुर्जा वितरण गरेका हौ’ क्षेत्रिले भने ।

Back to top