विश्वकप क्रिकेट – आज पाकिस्तान र वेस्टइन्डिज भिड्दै

21

वीरगंज, जेठ १७ – आइसिसी विश्‍वकपमा आज दुई पटकको विजेता वेस्टइन्डिज र पाकिस्तानबीच खेल हुनेछ। उनीहरूबीचको खेल नटिङघमस्थित ट्रेन्ट ब्रिजमा हुनेछ ।

दुबै टोलीले विश्वकपमा सहभागी जुनसुकै टोलीलाई हराउन सक्ने क्षमता राख्छन्। त्यसैले यी दुईबीच हुने आजको खेल रोमान्चक हुनसक्ने अनुमान गरिएको छ। तथापी विश्वकप अघिका खेलमा पाकिस्तानले राम्रो नतिजा निकाल्न सकेको छैन।



अफगानिस्तानविरूद्धको पहिलो अभ्यास खेलमा पाकिस्तान पराजित भएको थियो। यस्तै पाकिस्तान र बंगलादेशबीचको दोस्रो अभ्यास खेल वर्षाका कारण स्थगीत भएको थियो।

पाकिस्तान पछिल्ला १० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पराजय बेहोरिरहेको छ। लगातारको पराजयले पाकिस्तान विभिन्‍न चुनौतीसहित मैदान प्रवेश गर्दैछ।

तर, पाकिस्तानले आइसीसीका प्रतियोगिताहरूमा सधै राम्रो प्रदर्शन गरेको इतिहास छ। २०१७ मा आइसिसी च्याम्पियन्स ट्रफी जितेको पाकिस्तानमा प्रतिभावान युवा खेलाडीको बर्चश्व छ। युवा जोशमा टोलीले राम्रो नतिजा निकाल्न सक्ने अनुमान पनि गरिएको छ। तर, अनुभवको कमीमा टोली फितलो बन्नसक्ने चुनौती पनि उत्तिकै छ।

हालसम्म विश्वकप जित्ने पाँच टोलीमध्ये पाकिस्तान पनि एक हो। १९९२ विश्वपकको विजेता पाकिस्तान पछिल्ला दुई संस्करणमा क्रमशः सेमिफाइनल र क्‍वार्टरफाइनलबाट बाहिरिएको थियो।

वेस्टइन्डिज सुरुआती दुई विश्वकपको विजेता हो। इङ्ल्यान्डमा भएको पहिलो, दोस्रो र तेस्रो विश्वकपको फाइनल खेलेको वेस्टइन्डिज तेस्रो पटक भारतसँग पराजित भएको थियो। त्यसपछि उक्त टोली एक पटक मात्र सेमिफाइनल यात्रा तय गर्न सफल भएको छ।

पछिल्ला दुई विश्वकपमा क्वार्टरफाइलनबाट घर फर्किएको क्यारेबियन टोली विश्वकपमा सदाबहार उपाधि दाबेदारको रूपमा हेरिने गरेको छ। विगतका तुलनामा यसवर्ष वेस्टइन्डिज अझ बलियो र सशक्त बनेको छ। आइसिसी बरियताको शीर्ष स्थानमा रहेको इङ्ल्यान्डविरुद्धको एक दिवसीय शृंखलामा बराबरी खेलेको वेस्टइन्डिजले त्यसअघि २०१८ मा भएको बंगलादेशविरुद्धको शृंखला २–१ ले सुम्पिएको थियो।

वेस्टइन्डिजले विश्वकपअघिको अभ्यास खेलमा न्युजिल्यान्डविरूद्ध ४ सय २१ रनको ठुलो योगफल बनाएको थियो। क्वारेवियन टोलीको शीर्षक्रममा ब्याट्सम्यान मात्र होइन तल्लोक्रमा ब्याट्सम्यानले टोलीको इनिङ उकास्ने क्षमता राख्छन्। पछिल्लो खेलमा साई होपको लय लोभलाग्दो छ। उनले पछिल्लो पाँच एकदिवसीय अन्तर्राष्ट्रियमा क्रमशः १७०, १०९, ३०, ८७ र ७४ रन बनाएका छन्। उनले अभ्यास खेलमा पनि शतक बनाएका थिए।

बलिङको तुलनामा ब्याटिङ सशक्त रहेको क्यारेवियन टिमले चेज गर्न चाहने छ। सुरुआती विकेटदेखि ११औं खेलाडी जुनसुकैले पनि बललाई बाउन्ड्रीलाइन पार गराउन सक्ने हुनाले टस जितेको खण्डमा होल्डरले फिल्डिङ रोज्ने लगभग निश्चित छ।

वेस्टइन्डिजले खेलको नतिजा आफ्नो पक्षमा पार्नका लागि मुख्य १० हजार रन जोडिसकेका क्रिस गेलको भरपुर प्रयोग गर्नेछ। सम्भावित अन्तिम पटक विश्वकप खेल्न लागेका गेलले धमाकेदार प्रदर्शन गरेर आफ्नो एक्लो बलमा टोलीलाई जित दिलाउन सक्ने क्षमता राख्छन्। त्यसो त उनले गर्न नसके यसअघि नै एकदिवसीयमा चार शतक बनाइसकेको २२ वर्षीय युवा हेटमेयरले त्यो भूमिका निर्वाह गर्न सक्छन्।

आइपिएलमा सनसनी मच्चाएका आन्द्रे रसलले सोही फर्मलाई निरन्तरता दिए कुनै बलरको सामु घुडा टेक्ने छैनन्।

भर्खंरै इङ्ल्यान्डसँग खेलेका चार एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाबाट पाकिस्तानको रणनीति निर्धारण हुनेछ। ती चार खेलमा २ हजार ८ सय रन बनेका कारण बलिङभन्दा ब्याटिङ नै इङ्ल्यान्डको पिचमा प्रभावकारी हुने पाकिस्तानले बुझेको छ। त्यसकारण पहिलो इनिङमा फिल्डिङ गरेर विपक्षी टोलीलाई सकेसम्म थोरै रनमा समेट्दै लक्ष्य पछ्याउने कोशिस गर्नेछ।

मुख्य खेलाडी

एन्ड्रयु रसेल (वेस्टइन्डिज)

पछिल्लो समय कुनै ब्याट्सम्यानको नाम सुनेर बलरले दबाब महसुस गर्छ भने त्यो नाम रसलको हुनुपर्छ। बलिङ र ब्याटिङ दुवैतर्फबाट खेल जिताउन सक्ने क्षमता भएका रसल यसपटक वेस्टइन्डिजका लागि प्रमूख खेलाडी बन्न सक्छन्। आइपिएलमा २ सय ४ दशमलव ८२ को स्ट्राइकरेटमा रहेर ब्याटिङ गरेका रसलले सर्वाधिक ५२ छक्का प्रहार गर्दै तेस्रो सर्वाधिक रन बनाउने खेलाडी बने।

उनले त्यस प्रतियोगिताको ‘मस्ट भ्याल्युएबल प्लेयर’ को अवार्डसमेत जितेका थिए। पछिल्लो समय घुडामा देखिएको समस्याबाट टाढा राख्नका लागि पुरा १० ओभर बलिङ नगर्ने सम्भावना रहेपनि वेस्टइन्डिजको ब्याटिङमा रसलसँग कुनै सम्झौता नहुने अनुमान गर्न सकिन्छ।

मोहम्मद आमिर (पाकिस्तान)

तीब्र गतिका बलर मोहम्मद आमिरको बलिङले जुनसुकै ब्याट्सम्यानलाई निराश बनाउन सक्छ। उनी टोलीका अनुभवी खेलाडी पनि हुन्। आमिरले इङ्ल्यान्डमा सफलता प्राप्त गर्दै आएका छन्। इङ्ल्यान्डको वातावरणसँग परिचित आमिरको स्वीङले बेष्ट इन्डिजका ब्याट्सम्यानलाई धरापमा पार्न सक्छ।