जनकपुर– जयनगर रेल अब असोजदेखि संचालन हुने

150

काठमाडौं, जेठ १७ – भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल सेवा आउँदो असोजबाट सञ्चालनमा आउने भएको छ । रेलका लागि इन्जिन किन्नेसम्बन्धी सम्झौता भइसकेकाले आगामी असोजबाट रेल सञ्चालनमा आउने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।

‘एक अर्ब रुपैयाँ खर्चिएर इन्जिन किन्न लागिएको हो,’ चित्रकारले भने, ‘नेपाल र भारतका सरकारबीच खरिदबिक्री हुने भएकोले प्रक्रिया मिलाउन समय लागेको हो र यसले रेल सञ्चालनमा केही समय लागेको हो ।’



यसअघि चालू आर्थिक वर्षको कात्तिकमै जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल गुडाउने भनिए पनि ट्र्याक निर्माणलगायतका काम सम्पन्न नभएकोले निर्धा्रित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २०७४ फागुनभित्रै जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको थियो।

“अब भने कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ,” चित्रकारले भने, “रेलले एक घण्टाको राउण्डमा सो दूरी पार गर्नेछ । एक पटकमा पाँच सय यात्रु चढ्न मिल्ने रेलले दैनिक सेवा दिने चित्रकारले बताए ।

पहिला एउटा रेल सञ्चालन गरेर आवश्यकताअनुसार दुवै रेल सञ्चालनमा ल्याउने चित्रकारले जानकारी दिएको खबर आजको कारोबार दैनिकमा प्रकाशित भएको छ ।

पाँच वर्षअघिसम्म पनि जनकपुर–जयनगर रेल सञ्चालनमा थियो। त्यसपश्चात सो स्थानमा रेल सेवा सञ्चालन हुन सकेको थिएन। रेल विभागले रेल सञ्चालन केही समय भारतीय प्राविधिक टोलीद्वारा गरिने छ ।

चित्रकारले भने, “तालिम प्राप्त भारतीय प्राविधिक टोलीले नेपालको रेल सञ्चालन गर्ने छ। नेपालका प्राविधिक टोलीलाई तीनदेखि ६ महिनाको समयमा तालिम दिने र त्यसपछि नेपालको प्राविधिक टोलीबाट रेल सञ्चालन हुने छ ।”