×

वीरगंज, जेठ १६ - विगत १ दशक भन्दा बढि समय देखि सामाजिक कार्य गर्दै आएको संस्था सानो पाईलाले चैतमा आएको हावाहुरी पिडितहरुकालागि पूर्ण निर्माणको कार्यक्रम संचालन गर्ने भएको छ ।

विभिन्न दातृ संघ-संस्था तथा व्यक्तिहरुको सहयोगमा सानो पाईलाले पहिलो चरणमा संघीय तथा प्रदेश सरकारको नामावलीमा नपरेको बाराका हावाहुरी पिडितहरुको घर निर्माण गर्न सहयोग गर्ने जनाएको छ । शोमबार वीरगंजस्थित आफ्नो मुख्यालयमा एक पत्रकार सम्मेलन गरि संस्थाले उक्त जानकारी गराएको हो ।

संस्थाका विकास तथा रणनीति प्रमुख विक्रम उपाध्यायले सानो पाईलाले हाल सम्म बार र पर्साका हावाहुरी पिडितहरुका लागि गरेको क्रियाकलाप तथा सयोगको बारेमा जानकारी गराउदै पूर्णनिर्माणका लागि विभिन्न दातृ संघ-संस्था तथा व्यक्तिहरुको सहयोगमा अहिले सम्म ५ लाख भन्दा बढि रकम संकलन गरिसकेको जानकारी गराए । उनले पूर्णनिर्माणका लागी आफुहरुले सहयोगको रकम संकलन गर्ने कार्य अहिले केहि महिना सम्म जारि राख्ने समेत बताए ।

उपाध्यायले सानो पाईलाले बाराको गमरियाबाट आफुहरुले पूर्णनिर्माणको कार्यक्रम सुरु गर्ने बताए । उनले पूर्णनिर्माणको पहिलो चरणमा गमरियामा पूर्ण तथा आंशिक क्षति भएका ५ घर निर्माण गर्न विज्ञहरुको टोलि लिएर अर्को हफ्ताबाट काम सुरु गरिने भने । 'सरकारले पिडितहरुको सर्वेक्षण र मूल्याङकन गर्दा केहि घरहरु छुटिएको हामीले पाएका छौं, उपाध्यायले भने, 'त्यही छुटेका घरहरु हामीले निर्माण गर्ने योजना बनाएका छौं र त्यसकालागि अर्को हफ्ता देखि अध्ययन तथा निर्माण कार्य सुरु गर्ने छौं ।'

सानो पाईलाले संघीय तथा प्रदेश सरकारको पूर्णनिर्माण कार्य सुस्त भएको गुनासो गर्दै वर्षायाम भन्दा पहिला पिडितहरुको घर निर्माण नहुने सक्ने समेत बतायो । संस्थाले संघ तथा प्रदेश सरकारलाई पूर्णनिर्माण कार्यलाई गति दिन अनुरोध समेत गरेको छ ।

Back to top