×

वीरगञ्ज, ८ जेठ । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले वीरगञ्जस्थित बहुराष्ट्रिय कम्पनी केएनपी जापान प्रालिको स्थलगत अवलोकन गर्नुभएको छ । राजदूत मासामिचीले उद्योगको उत्पादनको अवस्था र आगामी योजनाहरूका बारेमा जानकारी लिनुभएको कम्पनीले बताएको छ ।

जापान, भारत र नेपालका लगानीकर्ताको साझेदारी रहेको सो उद्योगले नेपालको पेन्ट बजारमा गरेको प्रगतिको राजदूत साइगोले प्रशंशा गर्नुभएको छ । कम्पनीका निर्देशक अशोककुमार वैदले नेपालमा पेन्ट उद्योगको सम्भाव्यता राम्रो भए पनि बहुराष्ट्रिय कम्पनीको रुपमा रहेको यो उद्योगले ट्रेडमार्कको समस्या झेल्दै आउनु परेको बताउनुभयो ।

राजदूत साइगोले उद्योगले भोगिरहेको टे«डमार्कको समस्याको समाधानका बारेमा जापानी दूतावासले पहल गरिरहेको बताउनुभयो । समस्याले निकास नपाएसम्म यो प्रयासलाई निरन्तर जारी राख्ने आश्वासन पनि उहाँले दिनुभयो ।

जापानी दूतावासका प्रथम सचिव ताकासी मियाताको समेत सहभागिता रहेको अवलोकनका क्रममा उद्योगका प्रबन्धक अजय गौडले उत्पादनका विविध पक्षका बारेमा जानकारी दिनुभयो । यसअघि पूर्व जापानी राजदूत मासागी आगावाले पनि सो उद्योगको २ पटक स्थलगत अवलोकन गर्नुभएको थियो । उद्योगले सन् २०१२ देखि नेपालमा उत्पादन थालेको हो ।

Back to top