×

वीरगन्ज ५ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने निर्णय गरेको छ । जेठ २ देखि जारी पार्टीको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले अब अध्यक्षीय प्रणालीमा जाने निर्णय गरेको हो ।

'धारा ३१(१२) मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था गरेकोमा अब उपरान्त महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढ्ने व्यवस्था गरिएको छ,' बैठकपछि आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

यसअघि पनि अध्यक्षीय प्रणाली अपनाउने कि अध्यक्ष मण्डललाई निरन्तरता दिने विषयमा पार्टीभित्र बहस हुँदै आएको थियो ।

त्यस्तै, महाधिवेशन गरिसक्ने समयावधि पनि बढाइएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा एक वर्षभित्र महाधिवेशन गरिसक्ने भनिएकोमा यसअघि त्यसलाई बढाएर ३ वर्ष बनाइएको थियो । 'धारा ३१(१०) मा यसअघि पार्टीको महाधिवेशन २ वर्षभित्र गरिनेछ भनिएकोमा अहिले समयावधि बढाएर ३ वर्षभित्र गरिने भनिएको छ,' विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष मण्डलको संयोजक भोलिदेखि परिवर्तन हुने भएका छन् । पार्टीले केही महिनायता अपनाइरहेको चक्रिय प्रणालीअनुसार सोमबारदेखि अनिलकुमार झाले नयाँ संयोजकको जिम्मेवारी सम्हाल्नेछन् ।

Back to top