×

बारा १ जेष्ठ । जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकालामा परेको बारा सुवर्ण गाउँपालिका–६ धरमपुरका ओमप्रकाश यादव (अवधेश)को परिवारले १० जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दिएको छ । पति अनुठा यादवको दाहसंस्कार र काजकिरिया हिन्दूधर्मअनुसार नगरेको आरोपमा गाउँनिकाला भएको नौ दिनपछि मंगलबार बिन्दा अहिरिनले उजुरी दिएकी हुन् ।गाउँनिकालाको नेतृत्व गर्ने वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवसहित पूर्ववडा सदस्यहरू हृदयनारायण राउत अहिर र रामधार राउत अहिरविरुद्ध किटानी जाहेरी परेको छ । यस्तै, मोछीप्रसाद यादव, गणेशप्रसाद यादव, वैजनाथ गिरी र देवेन्द्र यादवविरुद्ध पनि किटानी जाहेरी परेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले बताए । उनीहरू स्थानीय अगुवा हुन् । उजुरी परेका श्रीनिवासप्रसाद बरई नेपाल सरकारका पूर्वकर्मचारी हुन् भने भरोसी राउत अहिर जातीय महाजन (जातको अगुवा) हुन् । धरमपुरका भेटेरिनरी सञ्चालक अहेव मिश्रीलाल बरईको भने उजुरीमा नाम छुटेको पीडित ओमप्रकाशले बताए । गाउँनिकाला गर्नेलाई कारबाही र आफ्नो परिवारलाई शान्ति–सुरक्षासहित गाउँ फर्किने वातावरण बनाइदिन पीडितले माग गरेको निमित्त प्रजिअ कार्कीले बताए ।

जिल्ला प्रशासन कार्यालय पुगेर उजुरी दिए पनि पीडित आमाछोरा बिन्दा र ओमप्रकाश आफ्नो घर जान सकेनन् । २२ वैशाखमा घर छाडेको नौजनाको परिवार हेटौँडामा बस्दै आएको छ ।

१५ वैशाखमा ओमप्रकाशका बुबा अनुठाको निधन भएको थियो । हजुरबुबाको पालादेखि मान्दै आएको कविरपन्थी धर्मअनुसार दाहसंस्कार गरेपछि हिन्दूधर्म मान्ने गाउँले सामाजिक बहिष्कारमा उत्रिएका थिए । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा १६ वैशाखमा गाउँ पञ्चायत डाकेर यादव परिवारलाई सामाजिक बहिष्कार गरिएको थियो । पञ्चायतले ओमप्रकाशको परिवारसँग बोल्ने र कुनै कारोबार गर्नेलाई समेत ३० हजार जरिवाना तिराउने निर्णय गरेपछि सबै गाउँले टाढिएका थिए । सामाजिक अपमान खेपेको परिवारले मानिआएको धर्मअनुसार सात दिनमा काजकिरिया सकाएर २२ वैशाखमा घर छाडेको थियो । यता वडा सदस्यस फरार रहेको श्रोतले जनाएको छ बाराका निमित्त प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले घटनालाई प्रशासनले गम्भिर रुपमा लिएको बताएका छन् ।

'कुनै धर्मअनुसार काजकिरिया नगरेको भन्दै गाउँनिकाला गरिएको भन्दै पीडित न्याय माग्न आएका छन् । मैले नै उजुरी बुझेँ, यसलाई प्रशासनले गम्भीर रूपमा लिएको छ । धर्मका नाममा सामाजिक बहिष्कार गर्नु कानुनको उल्लंघन हो । त्यसमा संलग्नलाई कारबाही हुन्छ । प्रमुख जिल्ला अधिकारीसँग आवश्यक सल्लाह गरी कारबाही प्रक्रिया अगाडि बढाउँछु ।', उनले भने ।

Back to top