प्रदेश–२ मा लगानी भित्र्याउन नीजि क्षेत्रसँग साझेदारी सहकार्य,२५ हजारलाई आगामी ४ वर्षभित्र रोजागारी दिने

131
Share

वीरगन्ज २९ बैशाख ।  प्रदेश २ को आठ जिल्लाका २५ हजारलाई आगामी ४ वर्षभित्र रोजागारी दिने योजना अगाडि बढाइएको छ। यससम्बन्धी विशेषज्ञहरुको अवधारणा पत्रमा शनिबार कार्यशाला सम्पन्न भएको छ।

यूके एड तथा सीप नेपाल नामक संस्थाको सहयोगमा मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबारदेखि वीरगञ्जमा गोष्ठी आयोजना भएको हो। गोष्ठीमा बैंकर्स, लगानीकर्ता, उद्योगी, कृषि विशेषज्ञ, होटल व्यवसायी, सामाजिक अगुवा, स्तम्भकार तथा मधेस मामिला जानकारलगायत विभिन्न क्षेत्रका करिब १ सय ५० जनाको सहभागिता थियो। कार्यशालामा निजी क्षेत्रसँग सहकार्य गरी कृषि, उत्पादकत्व, होटल तथा पर्यटन, आधुनिक प्राविधि गरी चार क्षेत्रमा प्रदेशका युवाहरुलाई कसरी रोजगारी दिन सकिन्छ? भन्ने विषयमा छलफल भएको थियो।

सीप नेपालकी निर्देशक तथा मिडिया संयोजक आयुषा निरौला महतले प्रदेश २ र प्रदेश ५ मा गरी ४ वर्षको लागि ४५ हजार जनालाई रोजगारी उपलब्ध गाउने विषयमा दुवै प्रदेश सरकारसँग छलफल चलिरहेको जानकारी दिइन्। ‘स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन गरी यहाँका लगानीकर्तासँग मिलेर प्रदेश सरकारले ‘थ्रि पि’को अवधारणामा उद्योग सञ्चालन गर्ने योजना छ,’ उनले भनिन्, ‘यसका साथै कृषिलाई आधुनिकीरण गरी उत्पादन बढाउँदै रोजागरी सिर्जना गर्ने लक्ष्य हो।’

‘हामीले यस कार्यमा सहजीकरण गरिरहेका छौँ। मिथिला आर्टमा महिलालाई कसरी व्यवसाय चलाउन सकिन्छ? आँपको जुस बनाउन प्रदेश सरकारले के गर्नसक्छ, होटल व्यवसायमा कहाँ भौतिक पूर्वाधार खडा गर्न सकिन्छ? यस्ता कुरामा राय सुझाव संकलन गरी तीनदेखि ६ महिनाभित्र योजना बनाउँछौँ,’ कार्यक्रमबारे उनले जानकारी दिइन्।

गोष्ठीमा बोल्दै मुख्यमन्त्री लालबाबू राउतले मधेसका युवाहरुप्रति प्रदेश सरकार जिम्मेवार रहेको बताए। प्रदेश २ हरेक कुरामा पछि परे पनि कृषि क्षेत्रलाई व्यवस्थित गरी उत्पादन वृद्धि गर्न सके यसैमा रोजगारी सिर्जना हुने र त्यसपछि सबै समस्या समाधान हुने उनले तर्क गरे।

कार्यक्रममा कृषि उद्यमी कृष्णलाल कर्णले कृषिमा आधुनिकीकरण र यान्त्रीकरणबाट उत्पादन बढाउने अवधारणा पत्र, मधेस मामिला जानकार तुलानारायण साहले मधेसका महिला तथा युवालाई स्थानीय तहमै कसरी रोजगार बनाउन सकिन्छ भन्ने बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै होटल व्यवसायी दिपक श्रेष्ठले होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन नभएसम्म पर्यटनको विकास हुन नसक्ने तथ युवा उद्यमी सरोज कोइरालाले बीमा र बैंकिङ क्षेत्रलगायतको अवधारणा पत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, मुख्यमन्त्री राउत, भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, वन तथा वातावरण मन्त्री रामनरेश राय, राज्यमन्त्री उषा यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द झा, नीति आयोगका उपाध्यक्ष डा. हरीवंश झा लगायतको सहभागिता थियो।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here