×

वीरगन्ज २७ बैशाख । गएको सोमबार राती करिब एक बजेको समयमा वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको सिर्सिया पुल नजिकै नेपाल प्रहरीको प्रदेश कार्यालय जनकपुरको टोलीले २ सय किलो मरिच बरामद ग¥यो ।

भारतर्फ लगिरहेको अवस्थामा दुईवटा भारतीय मोटरसाइकलमा लोड गरेको मरिच प्रहरीले पक्राउ गरेको र साथै मोटरसाइकलसंगै रक्सौल निवासी दिपेन्द्र मण्डल र वीरगन्ज २२ बस्ने विनोद पटेललाई पनि प्रहरीले पक्राउ गरेको थियो । मरिच पास गराउन ‘लाइनर’ को काम गर्ने रक्सौलका तारकेश्वरलाई पनि प्रहरीले पक्राउ गर्न खोजेको थियो तर, उनी मोटरसाइकलमा भाग्न सफल भए । तारकेश्वर भागे पनि उनको मोबाइल भने प्रहरीले नियन्त्रणमा लियो ।

मरिच र मोटरसाइकल सहित मण्डल र पटेललाई जनकपुरको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सा बुझाएर कोठामा सुत्न गयो । सुतेको केही बेरमै तारकेश्वरको मोबाइलको रिङ्गटोन बज्यो । वाराका एकजना पत्रकारको नामले ‘सेभ’ भएको नम्बरबाट कल आएको थियो ।

प्रहरीले कल रिसिभ गर्ने बित्तिकै उताबाट आवाज आयो – तारकेश्वर जी, माल पकडा नु गइल । प्रहरी – हु । पत्रकार – ‘हम कहते रनि ह कि जनकपुर के टोली आइल बा, अपने ना मननी ह । ठीक बा फ्रेस होकर बात करि ।’ यति भनेर उतबाट फोन काटियो ।

प्रहरीसंगको मिलोमतो देखिएपछि प्रदेश प्रहरी कार्यालयले आदर्शनगर एसटीएफ इन्चार्ज दिलिप सिंहलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोली इन्चार्ज इन्सपेक्टर राजेश दत्तसहित तीन प्रहरी अधिकृतलाई जनकपुर कार्यालय झिकाएर सख्त चेतावनी दिइएको छ ।

इन्सपेक्टर दत्तले नै जिल्लामा तस्करीको लाइन खोल्ने गरेका छन् । तस्कर र मरिचलाई थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको छ । पटेल र मण्डल धरौटीमा रिहा भएपनि प्रहरीले फेरि पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको छ । ‘तस्करसंग सम्पर्क भएकै आधारमा एक प्रहरी निलम्बन परे, तीन जनाले चेतावनी पाए,’ एक प्रहरी अधिकृत भन्छन, ‘तर, तस्करसंग निरन्तर सम्पर्कमा बस्ने पत्रकारलाई चाहि केही नहुने रहेछ ।’

Back to top