×

वीरगन्ज २३ बैशाख । बाराको सिमरामा निर्माणाधिन विशेष आर्थिक क्षेत्र (सेज) ले उद्योग स्थापनाका लागि टेण्डर आह्वान गर्ने भएको छ ।

ब्लक “ए”  मा रहेको तीन सय ४३ बिघा मध्ये एक सय ६५ बिघामा गार्मेन्ट प्रशोधन क्षेत्र बनाउँने योजना अन्तरर्गत सेजले उद्योगलाई दिने पुर्वाधारका अधिकांश सेवाहरु सम्पन्न भएकाले उद्योग स्थापनाका लागि टेण्डर आह्वान गर्ने भएको हो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका सहायक ईन्जिनियर अजय कुमार चौधरीका अनुसार “ए” ब्लकको गार्मेन्ट प्रोसेसि जोनमा पक्कि सडक , ठूला सवारी साधनको पार्किङ्ग , साईकल ल्याण्ड , फुटपाथ , खानेपानी , फोहोर पानी सुद्धिकरण ल्पान्ट र नालाढलको काम सम्पन्न भएको जनाउँदै प्रशासनिक र सेवा भवनको भौत्तिक संरचनाको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको हुँदा आगामी आर्थिक वर्षमा ब्लक “ए” मा गार्मेन्ट उद्योगका स्थापनाका लागि टेण्डर आह्वान गर्ने बताए ।

उनले एक सय ३२ के.भी.एको प्रसारण लाईन निर्माणका लागि विद्युत् प्राधिकरणलाई बजेट निकासा गरिसकिएकोले बिद्युत प्रसारणको काम पनि चाँढै हुने बताए । अत्यन्त महत्वका साथ हेरिएको यस योजनाको तत्कालीन उद्योग मन्त्री अष्टलक्ष्मी शाक्यले दशक अघि सेजको उद्घाटन गरेका थिए । भने प्रधानमन्त्री केपी ओलीले ०७४ चैत १८ मा सिमरा गार्मेन्ट प्रशोधन क्षेत्रको शिलान्यास गरेका थिए ।

बिरगंज चिनी कारखाना लिमिटेड्को सिमरा औराहामा रहेको आठ सय ३३ बिघालाई पाँच ब्लकमा बाँडेर अहिले ब्लक “ए” मा पूर्वाधार निर्माण भएको हो ।

“ए” ब्लकमा ६८ वटा प्लट तीन हजार देखी पाँच हजार स्क्वायर मिटरको रहेका छन् । सहायक ईन्जिनियर चौधरीका अनुसार सेजमा स्थापना हुने उद्योगले कुल उत्पादनको ६० प्रतिशत विदेश निर्यात गर्नु पर्नेहुन्छ गार्मेन्ट प्रोसेसि जोन बाहेकको एक सय ७८ विगाहामा अन्य उद्योग लगाउँन पाईने चौधरीले बताए ।

“ए” ब्लक पछि दोस्रो चरणमा “बि” र “सि” मा पर्खाल लगाउँने काम सुरु भएको छ । “बी” ब्लकमा एक सय २८ बिघा र “सि” ब्लकमा ४९.५ बिगाहा जमिन छ । ३ ब्लक बाहेक “डी” मा एक सय ७८ बिघा र “ई” ब्लकमा एक सय ३३ बिघा जमिन रहेको छ ।

पथलैया–बिरगंज औद्योगिक कोरिडोरमा जग्गाको मूल्यमा बृद्धि आएका कारण उद्योगका लागि जमिन खरिद गर्न गाह्रो भएकोले सेजको बाँकी जग्गालाई सरकारले औद्योगिक क्षेत्र विस्तारका लागि प्रयोग गर्नु पर्ने यस अघि उद्योगीले माँग गर्दै आएका छन् ।

सेजको बाँकी जग्गालाई सरकारले औद्योगिक विकासमा प्रयोग गर्न सके यस क्षेत्रमा नयाँ उद्योग आउँन सक्ने वातावरण निर्माण हुँने जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष मोहन शर्माको भनाई छ ।

भारतीय रेलमार्ग , एकीकृत भन्सार चौकी , सुक्खा बन्दरगाह र निर्माणाधीन निजगढ काठमाण्डौं दु्रत मार्ग , दोस्रो अन्तराष्ट्रिय बिमानस्थलका कारण यो क्षेत्र औद्योगिक विकासका लागि उत्तम हुँन सक्ने छ ।

सरकारले विदेशी लगानी भित्राउँन सम्मेलन गरिरहँदा उद्योग स्थापनका लागि आवश्यक पर्ने जग्गाको सहज उपलब्धतामा पनि ध्यान दिन जरुरी देखिन्छ ।

Back to top