×

वीरगन्ज, १३ बैशाख । चित्रकार हरिओम मेहताको चौथो एकल चित्रकला प्रदर्शनी बैशाख १५ गते देखी वीरगन्जमा हुने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै चित्रकार मेहताले चित्रकला प्रदर्शनी यही बैशाख १५ देखी १७ गते सम्म ३ दिन वीरगन्जको राणीसती अतिथी सदनमा हुने जानकारी गराएका हुन ।

बिहिबार नेपाल पत्रकार महासंघ पर्साको सभाहालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले चौथो एकल चित्रकला प्रदर्शनीको लयात्मक अस्तित्वको बारेमा जानकारी गराएका थिए । काठमाण्डौबाट सुरु भएको चित्रकला प्रदर्शनी विराटनगर, जनकपुर पछि वीरगन्जमा आयोजना गर्न लागिएको उनले जानकारी गराए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने ॅप्रदर्शनीको मुख्य उद्देश्य वास्तविक मानव सभ्यताको इतिहासलाई प्रकाशमा ल्याउनु नै हो’ । जुन सभ्यताहरु समय समयमा उत्थान र पतन हुदै आएका छन । प्रदर्शनीमा प्रदर्शन गरिने चित्रकलामा देश र पुर्खाको इतिहासलाई प्रस्तुत गर्ने कोसिस गरेको चित्रकार मेहताले बताए ।

भिजिट मधेश नेपालका संयोजक ओमप्रकाश सरार्फले कलाकार समाजका गहना मात्र नभएर, समाजको ऐना पनि भएकोले सबैलाई सहयोग गरी चित्रकला प्रदर्शनीलाई सफल बनाउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा उडानका मुकेश महतो, टिएमएनसीका प्रकाश थारु र कलाकार अजमत अलीको पनि सहभागिता रहेको थियो ।

Back to top