×

काठमाडौँ, बैसाख ४ - भारतका विभिन्न राज्यमा आएको वर्षा र चट्याङसहितको हावाहुरीले कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।

मंगलबार आएको हावाहुरीले मध्यप्रदेशमा १६, राजस्थान ६ र गुजरातमा ९ जनाको मृत्यु भएको हो। हावाहुरीमा परी दर्जनौं मानिस घाइते भएका छन् भने करौडौंको बालीनाली र सम्पत्ति नष्ट भएको छ । गुजरातमा प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाका लागि तयार पारिएको एउटा टेन्ट पनि हुरीले उडाइदिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारू राहत दिने घोषणा गरेका छन् । राजस्थानका विभिन्न ठाउँमा आएको तीव्र हावाहुरीले केही दिनयता दैनिक जनजीवन प्रभावित भएको छ ।

अरेबियन सागर र बे अफ बंगालबाट आएको मौसमी प्रणाली र पश्चिमी वायुको प्रणाली मिसिँदा उक्त हावाहुरीसहित वर्षा भएको भारतको मौसम विभागले जनाएको छ । यो मौसमी प्रणालीको प्रभाव नेपालमा पनि पर्ने भएकाले सर्तक रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार बुधबार देशैभरि सामान्य देखि पुर्ण बदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्र, पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षा/असिना पानीको सम्भावना छ। त्यस्तै तराईका हुरी बतास र उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हिमपात हुने महाशाखाले जनाएको छ । बिहीबार र शुक्रबार पनि मौसममा बदली हुने र केही स्थानमा असिनासहित पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

Back to top