×

वीरगन्ज २ बैशाख । नयाँ वर्षको सुरुवात सँगै वैशाख २ गते सोमवारदेखि सुरु हुने भनिएको विद्यालय भर्ना अभियान प्रदेश २ मा सुरु नहुने भएको छ ।

प्रदेश सरकारले प्रदेशकै लोकपर्व जुडशितलको अवसरमा वैशाख २ गतेका दिन बिदा घोषणा गरिएकोले सङ्घीय सरकार र प्रदेश सरकार समेतले आह्वान गरेको विद्यालय भर्ना अभियान सुरु नहुने जनाएको हो ।

सङ्घीय सरकारले पहिले नै निर्देशन दिइसकेको र प्रदेश सरकारका मुख्य मन्त्रि लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा चैत २८ गते बसेको शिक्षा विकास निर्देशनालयको बैठकबाट समेत वैशाख २ गतेदेखि विद्यालय भर्ना अभियान सुरु गर्ने निर्णय गरिएको थियो ।

बिदा परेको कारण प्रदेश २ मा वैशाख ३ गतेपछि विद्यालय भर्ना अभियान सुरु गर्ने स्थानीय तहले जनाएका छन् । तर अभियानलाई सफल पार्न सरोकारवाला निकायबाट कुनै तयारी देखिएको छैन ।

प्रदेशमा एक महिना ढिलो गरी आधारभूत तहको परीक्षा भएका कारण अधिकांश विद्यालयमा नतिजा सार्वजनिक गरिएको छैन । यसले पनि भर्ना अभियानलाई असर पार्ने बताइएको छ ।

हासम्म उमेर पुगेर विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क प्रदेशका कुनै स्थानीय तहले सङ्कलन गर्न सकेका छैनन् भने भर्ना अभियानबारे प्रचार प्रसार समेत गरिएको छैन । सबै स्थानीय तह विद्यार्थीहरू आफै विद्यालय आउने परम्परागत शैलीको अभ्यासमा बसेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका शिक्षा इकाई समितिका अधिकृत अन्जु पाण्डेले भर्ना अभियानको तयारी पर्याप्त नभएको बताइन् । ‘बिदा परेको कारण हामीले निर्धारित समयमा अभियान सञ्चालन गर्न सक्दैनौ,’ उनले भनिन्, ‘सबै विद्यालयलाई निर्देशन दिइसकेका छौँ, तर ढिलो गरी परीक्षा सञ्चालन भएको कारण तयारी अपुरो छ ।’

त्यस्तै हंसपुर नगरपालिका शिक्षा समितिका प्रमुख जिवछ मण्डलले वैशाख २ गते बैठक बसेर विद्यालय भर्ना अभियानलाई कहिलेदेखि कसरी सञ्चालन गर्ने भन्ने निर्णय गर्ने बताए ।

महिनौदेखि विद्यालय भर्ना अभियान बारे चर्चा चलिरहेपनि हालसम्म अधिकांश स्थानीय तहलाई विद्यालय बाहिर रहेका सबै विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गरी नियमित गर्न र गुणस्तरीय शिक्षा उपलब्ध गराउने अभियान प्रभावकारी बनाउन चासो नै छैन ।

सामाजिक विकास मन्त्री साहको अध्यक्षतामा बसेको बैठकमा विशेष समस्याले गर्दा विद्यालयमा भर्ना भई नियमित हुन नसकेका विद्यालय उमेरका बालबालिकाका समस्या पत्ता लगाइ समाधानमा सहयोग पुर्‍याइदिन र सबै बालबालिकालाई विद्यालयमा भर्ना र नियमित गर्ने अभियान सफल पार्ने कार्यमा जुट्न निर्देशन दिइएको थियो ।

पछिल्लो पटक शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आफै जिल्ला जिल्लामा गई स्थानीय तह प्रमुख र सरोकारवाला निकायसँग बैठक गरी विद्यालय भर्ना अभियानलाई सफल पार्न तथ्याङ्क सङ्कलनदेखि प्रचार प्रसार सहित आवश्यक सबै प्रक्रिया अपनाउने निर्देशन दिएका थिए ।

विद्यालय भर्ना अभियान सफल पार्न कुनै तयारी नभएको बारे जिज्ञासा राख्दा प्रदेश २ शिक्षा विकास निर्देशनालयका प्रमुख रामाकान्त शर्माले सबै स्थानीय तहमा पत्राचार गरिसकेको बताए ।

‘पहिलो चरणमा विद्यार्थीहरू आफै विद्यालय भर्ना हुन आउने, दोस्रो चरणमा विद्यालय बाहिर रहेका उमेर पुगेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरी घरदैलोमा पुगेर स्थानीय तहहरूले अनुरोध गर्नेछन्,’ उनले भने, ‘जहाँसम्म प्रचार प्रसारको कुरा हो, त्यसमा केही कमी देखिएको छ, तर स्थानीय तहले त्यसको व्यवस्थापन गर्नेछन् ।’

Back to top