×

वीरगन्ज २ बैशाख । मालवाहक साधनको भारवहन नियमसम्बन्धी निर्देशिका २०७४ ले आयातीत मालसामानको भार मिलान भन्सार परिसरमै गर्ने व्यवस्था गरे पनि कार्यान्वयन भएको छैन । भन्सारबाट बढी भार बोकेर निर्वाध रूपमा निस्किएका ढुवानीका साधनलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले राजमार्गमा बढी मालवाहक भार बोकेका गाडीलाई रोकेर अवैध असुली गरिरहेको पाइएको छ ।भारवहन मापदण्ड पालना नगरेको बताउँदै राजमार्गमा ट्राफिकले आयातकर्तासित अनधिकृत रूपमा रकम उठाइरहेको व्यवसायीले बताए । सरोकारका निकायले भन्सार विन्दुमै निर्देशिकाको कार्यान्वयन नगर्दा ट्राफिक प्रहरीका लागि अवैध आर्जनको औजार बनिरहेको उद्यमीहरूले बताए ।बारा–पर्सा औद्योगिक कोरिडोरमा फलाम र सिमेण्टको कच्चा पदार्थ ओसार्ने व्यवसायी ट्राफिकलाई प्रतिसाधन १ हजार ५०० रुपैयाँसम्म घुस बुझाउन बाध्य छन् । निर्देशिका अनुसार १४ चक्के साधनले २७ र लहरीले ३० मेट्रिकटनभन्दा बढी भार बोक्न पाउँदैनन् । तर, ट्राफिक प्रहरीले १ हजार ५०० रुपैयाँ जरीवाना काटेर जति पनि भार बोक्न दिइरहेको छ ।क्षमताभन्दा बढी भार बोकेको पाइएमा जरीवाना गरी बढी मालसामान झार्न लगाउनुपर्ने निर्देशिकामा उल्लेख छ । जरीवाना काटेर मालसामान नझारी गन्तव्यसम्म लैजान दिएवापत ट्राफिक प्रहरीले अतिरिक्त अवैध रकम लिने गरेको व्यवसायी बताउँछन् । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई पनि भाग दिनु पर्छ भन्दै प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले राजमार्गमा बढी मालवाहक भार बोकेका गाडीलाई रोकेर अवैध असुली गरेको श्रोतले बताएका छन । सबैभन्दा बढी फलाम वीरगञ्ज सुक्खा बन्दरगाहबाट भित्रिन्छ ।कोरिडोरका ठूला फलाम उद्योगले रेलमार्फत बन्दरगाहमा फलाम मगाउँछन् । ठूला उद्योगीले ट्राफिकसँग सेटिङमा बढी भार ओसारिरहेका छन् । आधाजसो जरीवाना काटेर अरू सेटिङमा लैजाने गरेको ढुवानी व्यवसायीले बताए । भन्सार कार्यालयमा मालवस्तुको तौल गर्ने संरचना छ । तर, तौलमा राजस्व लिनुपर्ने मालसामानलाई मात्र तौल अनिवार्य गरिएको वीरगञ्जका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले बताए । ‘भारवहन मापदण्डको कार्यान्वयन भन्सारका लागि बाध्यकारी छैन । यो निर्देशिका कार्यान्वयन गर्ने काम यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीको हो,’ भण्डारीले भने ।वीरगञ्जका सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी र भन्सारबाट भित्रिएका फलामको बिलेट र क्वायल ओसार्ने अधिकांश लहरीले ६० मेट्रिकटनभन्दा बढी तौल बोक्छन् । वीरगञ्ज र आईसीपी भन्सारबाट दैनिक फलाम बोकेका ३५ र क्लिंकरका ६५ ढुवानी साधन आउने ती कार्यालयको तथ्यांक छ । सुक्खा बन्दरगाहबाट दैनिक ४५ देखि ५० ओटासम्म बढी भार बोकेका साधन निस्किन्छन् । यस्ता साधनले क्षमताभन्दा कम्तीमा दोब्बर भार बोक्ने ढुवानी व्यवसायी बताउँछन् ।वीरगञ्जको बाइपास र सुक्खा बन्दरगाहबाट परवानीपुर हुँदै त्रिभुवन राजपथमा आइपुगेका साधनलाई ट्राफिक प्रहरीले राजमार्गमा रोकेर रकम असुल्ने गरेको उद्यमीले बताए । ‘भारवहन क्षमता कार्यान्वयन गर्ने हो भने भन्सारमै तौलिने र भार मिलाउने व्यवस्था हुनुपर्छ । होइन भने बाटोमा रोकेर पैसा उठाउने काम बन्द गरिनुपर्छ,’ एक उद्यमीले भने । बढी भार बोकेका साधनका कारण सडक चाँडै बिग्रिने र दुर्घटनाको सम्भावना बढी हुने भएकाले मापदण्ड बनाइएको हो । प्रदेश–२ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता प्रहरी निरीक्षक रितेन्द्रकुमार सिंहले निर्देशिकाले भन्सार परिसरमै भार मिलान गर्ने व्यवस्था गरेको दाबी गरे । भार मिलान भन्सारमै हुनुपर्ने उनको तर्क छ । सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ भन्सार विभागबाट भार मिलान गर्ने निर्देशन नभएको बताउँछन् । ‘भन्सारको काम राजस्व संकलन गर्ने हो । भार क्षमताको विषय यातायात र ट्राफिकको हुनुपर्छ,’ श्रेष्ठले आर्थिक अभियानसित भने । प्रहरी निरीक्षक सिंहले बाराका प्रमुख जिल्ला अधिकारीको ‘समन्वय’मा पथलैयासम्म ४०र४५ मेट्रिकटनसम्म भार बोक्न दिइएको बताए । सडकमा सवारीको चाप कम भएको बेला मालवाहक साधनलाई ढुवानी दिइएको उनको भनाइ छ । ट्राफिक प्रहरीले व्यवसायीसँग अनधिकृत रकम नलिएको दाबी उनले गरे ।यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख उपेन्द्र महतो भन्सारमै भार क्षमता मिलानको व्यवस्था भए पनि कसले गर्ने भन्ने स्पष्ट नभएको बताउँछन् । निर्देशिकामा भन्सार कार्यालय परिसरमै मालवाहक सवारीको भारवहन क्षमताअनुसार मिलान गरी ढुवानी गर्नुपर्ने उल्लेख छ । तर, यो दायित्व ‘सम्बन्धित यातायात सेवा सञ्चालकको हुने’ भनिएको छ । निर्देशिकाको यही छिद्र यातायात र भन्सारका लागि दायित्वबाट पन्छिने र ट्राफिक प्रहरीका लागि कमाउने बहाना बनेको व्यवसायीहरू बताउँछन् ।

Back to top